Ad #144479

जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका छन् । जिल्लाको एकमात्र १५ शय्याको अस्पतालबाट गत २०७६ असारदेखि २०७७ असार मसान्तसम्ममा ३०३ जनाको सामान्य, १०३ जनाको शल्यक्रिया र ५४ जनाको जटिल किसिमको प्रसुति सेवा लिएका हुन् ।

विसं २०६८ देखि सिइओएनसीको सहकार्यमा प्रसुति सेवा शुरु गरिएको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५र०७६ मा तिन सय ६३ सामान्य, ९१ शल्यक्रिया र ३५ जना महिलाले जटिल किसिमका प्रसुति सेवा लिएका थिए । पछिल्लो समय एनएसआइको सहकार्यमा दक्ष चिकित्सकबाट प्रसुति सेवा सञ्चालन भइरहेको छ ।

एमडिजिपि डाक्टरबाट जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज हुनुका साथै प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर हेलिकोप्टरमार्फत राजधानी काठमाडौँलगायत सुविधासम्पन्न अस्पतालमा लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको हो ।

दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा अघिल्लो आर्थिक वर्ष बहिरङ्ग विभागबाट २४ हजार ७०७ जना र आकस्मिक कक्षबाट सात हजार ३०० बिरामीले सेवा लिएका छन् । कार्यालय प्रमुख रवीनका अनुसार उपचारका लागि अस्पतालमा आएका १२२ जना बिरामीलाई माथिल्लो स्वास्थ्य संस्थामा पठाइएको थियो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङका अनुसार विसं २०४८ मा स्थापना भएको अस्पताललाई चालु आर्थिक वर्षबाटै ५० शय्यामा स्तरोन्नति गर्ने तयारी थालिएको छ । अहिले पन्ध्र शय्यामा सञ्चालित अस्पताललाई राज्यको नीतिअनुसार ५० शय्यामा स्तारोन्नति गर्ने काम शुरु भइसकेको र उपचारका लागि अस्पताल आउने सेवाग्राहीलाई जिल्लामै सबै किसिमका सुविधा उपलब्ध गराउन आवश्यक उपकरण खरिद गर्नुका साथै प्रदेश सङ्घमा समन्वय गर्ने कामसमेत भइरहेको उहाले बताउनुभयो छ ।

लामो समयसम्म मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह हुँदै आएको अस्पतालमा अहिले डिजिटल एक्सरे मशिन सञ्चालनमा ल्याइएको छ । वर्षौदेखि मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मूल्य पर्ने डिजिटल एक्सरे मेशिन जडान गरेर सञ्चालनमा ल्याएको हो ।अस्पतालमा डिजिटल एक्सरे मेशिन सञ्चालन भएपछि जुनसुकै प्रकारको एक्सरे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताउनुभयो ।

कार्यालय प्रमुख फुँयालले आर्थिक वर्ष २०७६र०७७ मा नियमित बाहेकका सात वटा नयाँ स्वास्थ्य सेवा शुरु गरिएको जानकारी दिएको छ । अस्पतालमा आर्थिक वर्ष २०७६र०७७ देखि पिटिआइएनआर जाँच सेवा, टिएफटी जाँच सेवा, डिजिटल एक्स–रे, दन्त चिकित्सा सेवा, पोषण पुनःस्थापना, निःशुल्क प्रसुति र ब्लड बैङ्क स्थापना गरिएको जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा जटिल किसिमका बिरामीलाई थप उपचारका लागि राजधानी काठमाडौँ तथा तराईका जिल्ला लानुपर्ने बाध्यता छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको उत्तरी क्षेत्रको ऐसेलुखर्क र दक्षिणी क्षेत्रको चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।