बुटवल उपमहानगरपालिका वडा नं ९ र ११ मा पर्ने कालिका पथ सडक क्षेत्र मिचेर बनाइएका घर आज भत्काइएको छ । सडक ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो । सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन पटकपटक घरधनीलाई आग्रह गरिए पनि अटेर गरेपछि डोजर चलाउनु परेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।
प्रहरीको सुरक्षा घेरा बनाएर उपमहानगरपालिकाले डोजर चलाएको हो । सडक क्षेत्रका अधिकांश घर हटाए पनि केही घरधनीले अटेरी गर्दै आएका थिए । सडकको क्षेत्राधिकार मिचेका घर भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
यो सडकको विस्तारका लागि प्रदेश नं ५ सरकारले बजेट व्यवस्था गर्नेछ । बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदनमा यो सडक विस्तारको काम सम्पन्न हुन झण्डै रु एक अर्ब खर्च हुने उल्लेख छ । विसं २०५४ मै यो सडकलाई ८२ फुट ९२५ मिटर० कायम गरी विस्तारको योजना बनाइएको थियो । केही व्यक्तिको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा विस्तार हुन सकेको थिएन ।
अहिले अधिकांश स्थानीयवासीको साथ पाएपछि मूल सडकजस्तै भित्री सडक पनि स्तरोन्नति गर्न लागिएको हो ।