कर्तव्य निर्वाह भन्दा कोरोना ठुलो हैन्

२० साउन, काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना सङ्क्रमित जनप्रतिनिधि र कर्मचारीले जनताको काम गर्दा सङ्क्रमित हुनु परेकामा कुनै पश्चाताप नरहेको र कर्तव्य निर्वाह भन्दा कोरोना ठुलो नभएको बताउनुभएको छ ।

कोरोना रोकथामको अभियानमा अग्रभागमा रहेर क्रियाशील हुँदै आउनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता वडा नं १ का अध्यक्ष प्रमोद रिजाल सामाजिक सञ्जालमा लेख्नुहुन्छ “जनताको काम गर्दागर्दै मलाई कोरोना सङ्क्रमण भए पनि पीर छैन, म त स्वस्थ नै छु । पीर त मेरा जनताको स्वास्थ्यको छ, कसैलाई पनि केही नहोस् ।”, जनतालाई सान्त्वना दिँदै उहाँले भन्नुभएको छ, “यस्तो बेलामा नआत्तिऔँ बरु सबैले सावधानी अपनाऔँ ।”

अर्का सङ्क्रमित वडा नं २० का कम्प्युटर अपरेटर पदम कार्की भन्नुहुन्छ “जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यान नै जोखिममा राखेर यथाशक्य सुरक्षित हुने प्रयास गरेकै हो तर सङ्क्रमण भइहाल्यो”,उहाँ भन्नुहुन्छ,“कोरोनासँग डराएर भागेर हुँदैन, पराजित गरी फर्किने छु ।” उहाँहरुले कोरोना समुदाय स्थरमै फैलिएकाले सबैजना सजक र सचेत हुन जरुरी रहेको बताउभएको छ । आम जनताको सजगता र सचेतनाबाटै यस रोगबाट बच्न सकिने भएकाले हरेक नागरिक जिम्मेवार हुनु आवश्यक रहेको उहाँहरुको भनाइ छ ।