एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । स्थानीय तहलाई आर्थिक वर्ष २०७७/७८ को पेश गरेको बजेट विवरण पठाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् । अहिलेसम्म ६०२ स्थानीय तहले मात्र आफूले पेश गरेको बजेटको विवरण मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीको भनाई छ ।
पेश नगर्नेमा स्थानीय तहमा प्रदेश नं १ का २२, प्रदेश नं २ का ६६, वाग्मती प्रदेशका २०, गण्डकी प्रदेशका १०, प्रदेश नं ५ का छ, कर्णाली प्रदेशका ५ र सुदूरपश्चिम प्रदेशका २२ वटा रहेका छन् । मन्त्रालयका प्रवक्ता अधिकारीले पुनः विवरण पठाउन निर्देशन दिएको बताउनुभयो ।
सबै स्थानीय तहले आव २०७७/७८ को बजेट गत असार १० गतेभित्र पेश गरेका थिए । स्थानीय तहले पेश गरेको बजेट मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।