अर्को निर्णय नभएसम्म सञ्चालित विद्यालय बन्द गर्न आग्रह

शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएको भन्दै आइतबार सूचना जारी गरी जिल्लाभित्रका सबै विद्यालयलाई कक्षा सञ्चालन नर्गन आग्रह गरेको हो ।

नेपाल सरकारले भदौ १ गतेदेखि मात्रै नयाँ विद्यार्थी भर्ना गर्ने र भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउनेसम्बन्धी निर्णय भएकामा जिल्लाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएकाले विद्यालय खोलेर कक्षा सञ्चालन नर्गन आग्रह गरेको इकाइ काभ्रेपलाञ्चोकका निमित्त प्रमुख सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

निर्देशिका अनुसार उहाँहरुले अनलाइन र वैकल्पिक माध्यमबाट सिकाइमा सहजीकरणलाई निरन्तरता दिन सकिने तर विद्यालय नै खोलेर कक्षाकोठामा भीड जम्मा गरेर कक्षा सञ्चालन गर्न नपाईने प्रमुख भट्टले बताउनुभयो । विद्यालय खोलेर कक्षा सञ्चालन गरिरहेका विद्यालयलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्न इकाइले आग्रह गरेको छ ।

[sidebar name="button post"]