कोभिड–१९ ले राजस्व असुलीमा कमी

जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा कोभिड–१९ ले असर पारेको छ । गत आर्थिक वर्ष २०७६÷०७७ को असारमसान्त सम्ममा कार्यालयले विभिन्न शीर्षकबाट रु चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ ।

सबैभन्दा बढी राहदानी बिक्रीबाट रु तीन करोड ९० लाख ८५ हजार राजस्व सङ्कलन भएको कार्यालयका लेखापाल टेकप्रसाद नेपालले जानकारी दिनुभयो । हातहतियार इजाजतबापत रु ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत रु सात हजार ६०० अन्य प्रशासनिक सेवा शुल्कबापत रु ११ लाख दुई हजार ४५० राजस्व सङ्कलन भएको छ ।

सो राजस्व अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को भन्दा रु दुई करोड ५३ लाख ३५ हजार ६४८ ले कमी रहेको उहाँले बताउनुभयो । अघिल्लो वर्ष कार्यालयले रु छ करोड ५६ लाख ५१ हजार २८४ राजस्व सङ्कलन गरेको थियो । आवको दोस्रो चौमासिक शुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको लेखापाल नेपालले बताउनुभयो ।

[sidebar name="button post"]