पहिरोले मेलम्चीका आठ बेपत्ता

सिन्धुपाल्चोक, १९ साउन । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।