काठमाडौं , १७ साउन । हाटबजारमा हुने भीडभाड र चहलपहलका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै सिरहाको जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा लाग्दै आएको हाटबजारमा रोक लगाएको छ।
शहर बजार तथा ग्रामीण भेगमा भीडभाड र चहलपहलले सङ्क्रमणको जोखिम बढ्ने गरेकाले हाटबजार नलगाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनुभयो । अत्यावश्यक काम बाहेक बजार तथा हाटबजार नआउन आग्रह गर्नुहुँदै प्रजिअ कँडेलले बजार तथा कार्यालय जानै परे अनिवार्य रुपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्न अनुरोध गर्नुभयो।
प्रजिअ कँडेलले कृष्णजन्माष्टमी, रक्षाबन्धनलगायत विभिन्न चाडपर्वका बेला जिल्लाका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा हुने मेला, महोत्सवसमेत नगर्न आग्रह गर्नुहुँदै घरमै बसेर चाडपर्व मनाउन आग्रह गर्नुभयो ।