असार २९ गतेदेखि परेको निरन्तर वर्षापछिको बाढीपहिराले तनहुँको कृषि क्षेत्रमा करीब रु नौ करोड बराबरको क्षति भएको छ । बाढीपहिराले जिल्लाका विभिन्न भागमा छ सय हेक्टर क्षेत्रफलमा लगाएको धान नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा लगाइएको धान खेतीमा बढी क्षति पुगेको छ भने व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि बाढीपहिराले क्षति पुगेको छ । खोलाले कटान गरेको र बगरले पुरेर करीब रु नौ करोड बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
कतिपय स्थानमा किसानले बाढी पन्छाएर रोपाइँ शुरु गरेका छन् तर रोपाइँमा ढिला हुँदा उत्पादन घट्ने कुरामा चिन्तित छन् । ढिलै भए पनि छिटो पाक्ने जातका धान रोपाइँ गर्न कृषकलाई सुझाव दिए संगै बालीनालीमा हुने क्षति व्यहोर्नलाई स्थानीय सरकारले बजेट विनियोजन गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताउनुभयो ।
बाढीपहिराबाट किसानलाई भएको क्षतिको विवरण सङ्कलन भैरहेको छ । । बाढी र पहिराका कारण बगरमा परिणत भएका खेतलाई प्रतिरोपनी रु दुई हजारका दरले क्षतिपूर्ति दिने बन्दीपुर गाउँपालिकाले निर्णय गरेको छ । बाढीले बगरमा भएका खेतलाई अनुगमन गरेपछि क्षतिपूर्ति दिइने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।