काठमाडौं , १७ साउन । अबको तीन दिन विगतमा जस्तो लगातारको झरी नहुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली भएकाले छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने विभागले जानकारी दिएको छ ।
विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएअनुसार अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको छ । यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा पहिराको जोखिम बढी हुन्छ ।
प्राधिकरणका प्रमखु अनिल पोखरेलले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने, जोखिम कम गर्ने र विपद्का घटना भएमा क्षति कम गर्ने गरी आवश्यक समन्वयमा काम भइरहेको बताउनुभयो । उहाँका अनुसार राहत र उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोलीसहित सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकाय सक्रिय रहेका छन् ।