सौराहाका होटल सञ्चालनमा आए पनि त्यहाँ आएका पर्यटकहरु घुम्नका लागि जाने चितवन राष्ट्रिय निकुञ्ज भने खुलेको छैन ।
लकडाउनसँगै निकुञ्जका सबै गतिविधि बन्द गरिएको थियो । बर्सातको समयमा निकुञ्जभित्र जिप सफारी रोकिने भए पनि अन्य गतिविधि रोकिँदैन । सौराहा आउने पर्यटक हात्ती चढेर स्थानीय सामुदायिक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चढ्ने, जङ्गलमा पैदल यात्रा गर्ने गर्दछन् । सबै गतिविधिका लागि विदेशी पर्यटकले निकुञ्जको प्रवेश टिकट लिनुपर्ने हुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले कोरोनाको सङ्क्रमण जारी नै रहेकाले अध्ययन र छलफल गरेर मात्र निकुञ्जले अनुमति दिने बताउनुभयो । उहाँले भन्नुभयो, “रोगको सङ्क्रमणको डर वन्यजन्तुलाई पनि हुन सक्छ ।”
सामुदायिक वनमा घुमे पनि आन्तरिक पर्यटकले प्रति व्यक्ति रु १००, भारतीयले रु एक हजार ६०० र अन्य देशकाले रु दुई हजार निकुञ्जलाई तिर्नुपर्ने हुन्छ ।