रातको समयमा उपत्यका प्रवेशमा रोक

काठमाण्डौ, साउन १६ – सरकारले साउनको ७ गतेदेखि लकडाउन हटेको घोषणा गरेसँगै देशका विभिन्न जिल्लाबाट काठमाण्डौ भित्रिनेको सङ्ख्या बढ्न थाले सँगै उपत्यकामा कोरोनाका सङ्क्रमित थपिन थालेका छन् । लामो समय बन्द भएका कलकारखाना, विभिन्न कार्यालयलगायत खुल्न थालेपछि गृह जिल्ला गएकाहरु काठमाण्डौ फर्किन थालेका हुन् ।

गएको चार दिनमा नागढुङ्गा नाकाबाट काठमाण्डौ भित्रिने मध्य चार हजार सात सय १० जनाको नमुना सङ्कलन गर्दा २ हजार ३ सय २ जनाको रिपोर्ट आएको छ । जसमा नागढुंगा नाकाबाट आएर कोरोना परीक्षण गरिएकामध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी साँगाबाट दुई हजार चार सय नौ जनाको नमुना सङ्कलन गरिएकामा चार सय ३० जनाको रिपोर्ट आएकोमा ११ जनामा कोरोना भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता उपत्यका भित्रिने यात्रुको नाका मै कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरेको सरकारले नाकामा आइपुगेका केहीमा कोरोना सङ्क्रमण भएको पाएपछि बिहीबार रातिदेखि नै रातको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ । काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गा, फर्पिङ र साँगाबाट आएका नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि थप निगरानी बढाइएको छ ।

अहिले उपत्यका प्रवेश गरेका सैलुनमा काम गर्ने व्यक्ति, ड्राइभर, मजदुर, व्यापारीदेखि जनप्रतिनिधिसम्मलाई कोरोना भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा धेरै पर्साको वीरगञ्जबाट आएकाहरुमा कोरोना देखिएको छ । त्यसपछि विराटनगर, बारा, सप्तरी, सर्लाही, महोत्तरीबाट आएकाहरुमा पनि कोरोना देखिएको छ ।