बागलुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौँ घर पहिराको उच्च जोखिममा रहेको जनाएको छ । अविरल वर्षापछि साउन १० गते गएको पहिराले बागलुङ नगरपालिका–१ रामरेखाको निरयघाटमा एक जनाको मृत्यु भएको र अर्का एक जना बेपत्ता रहेका छन् । बेपत्ताको प्रहरीले खोजी कार्य गरे पनि हालसम्म फेला नपारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
यस्तै १३ गते जिल्लाको तमान खोला गाउँपालिका–२ मा घर पहिरोका कारण भत्किदा दुई बालबालिकाको मृत्यु भएको छ । सोही दिननै निसी खोला गाउँपालिका–१ मा पाँच वर्षीय बालकको मृत्यु भएको छ । अविरल वर्षाका कारण पछिल्लो समय बागलुङमा विपद्का घटना बढ्दै गएका छन् । बाढीपहिराका कारण बागलुङमा अधिकांश सडक अवरुद्ध भएका छन् ।
जोखिमयुक्त वस्ती पहिचानको कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।पन्तका अनुसार पहिरोमा ज्यान गुमाएका एक घरको एक जना छ भने रु दुई लाख र त्यस परिवारका थप मत्यु सङ्ख्याको आधारमा रु एक लाख थप हुनेछ । उहाँले घरमा क्षति पुगेका ५४ घरलाई रु १५ हजारका दरले राहत वितरण गर्ने जानकारी दिनुभयो ।
जिल्लाका १० स्थानीय तहमा घर भत्केकाको विवरण आए पनि जोखिममा परेका घरको विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहले जोखिमयुक्त बस्तीको पहिचान तथा पहिराको जोखिममा रहका घरको विवरण सङ्कलन गरिरहेका छन् ।