कबिता चापागाईं
साउन १६ काठमाण्डौ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा राख्ने भनिएको विश्वकै ठुलो १५ सय किलोको कागको मुर्ति बनाउने काम धमाधम भैरहेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ मा रहेको शहिद पार्कमा राख्ने १३ फिट अग्लो कागको मुर्ति बनाउने काम भैरहेको हो । पाटन औद्योगीक क्षेत्रमा रहेको नेपाल ढलोट उद्योगले कागको मुर्ति बनाइरहेको छ ।
कागको मुर्ति बनाउन दैनिक ३,४ जना कालिगढ खटिएका नेपाल ढलोट उद्योगका सञ्चालक अमिररत्न शाक्यले कागेश्वरी खबरलाई बताउनुभयो । कागेश्वरीमा २०७३ सालदेखि नै कागको ठुलो मुर्ति राख्ने चर्चा सुरु भएको थियो । तर मुर्ति बनाउन आवश्यक सामग्री र रकम जुटाउन नसक्दा काम अगाडी बढ्न सकेको थिएन ।
गएको कार्तिकदेखि मुर्ति बनाउने काम सुरु भएको हो । त्यसका लागि स्थानीयले पुराना विभिन्न सामग्री संकलन बुझाएका थिए । अहिले मुर्तिको झण्डै ७५ प्रतिशत काम सकिएको छ । कोरोना संक्रमण जोखिमका कारण गएको चैत ११ गतेदेखि सरकार गरेको लकडाउनका कारण काम रोकिएको थियो ।
साउन ६ गते राती सरकारले लकडाउन हटेको घोषणा गरेपछि मुर्ति निर्माणको काम पनि सुरु भएको उद्योग सञ्चालक शाक्यले जानकारी दिनुभयो । ‘लकडाउनका बेला काम गर्न सकिएन शाक्यले भन्नुभयो,‘अहिले धमाधम काम भैरहेको छ ।’
कागको मुर्तिका लागि टाउको, जीउ, खुट्टा सहित एउटा पखेटा बनिसकेको छ । अहिले दायाँ पखेटा बनाउने काम भैरहेको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालको पहलमा १५ सय किलोको कागको मुर्ति बनाउने काम अघि बढेको हो ।
पञ्चरत्न धातुको कागको मुर्ति निर्माणका लागि उपभोक्ता समिति गठन गरी काम अगाडी बढेको हो । मन्त्री फुयाँल सहित उपभोक्ता समितिले बेला बेला चासो राख्ने गरेकोले पनि मुर्तिको काम धमाधम भैरहेको शाक्यले बताउनुभयो । कागेश्वरीमा २ सय २७ किलोको ४ दशमलव ५ फिट अग्लो कागको मुर्ति यसअघि नै राखिएको छ ।
अब आउने काग तिहार सम्ममा यो मुर्ति पनि बनिसक्ने उद्योग सञ्चालक शाक्यले बताउनुभयो । विश्वमै ठुलो कागको मुर्ति बनेपछि नगरपालिकालाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न टेवा पुग्ने नगरपालिकाका मेयर कृष्णहरि थापाले बताउनुभयो । अहिलेसम्म ठुलो मानिएको १४ सय किलोको कागको मुर्ति इन्डोनेसियामा रहेको पाइएको छ ।