हातहतियार र सुन चाँदी धातु फ्याँकेर फरार

मङ्गलबार प्रहरीकै अगाडि काठमाडौँको कमलादीमा हातहतियार र सुन चाँदी धातु फ्याँकेर भागेका व्यक्तिको अझै पहिचान हुनसकेको छैन ।
सवारी जाँच गर्ने क्रममा कमलादीमा बा ६ च ५५१९ नं को स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो । प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन ।उक्त गाडी बाटामै कपडाको झोला फ्याँकेर भागेको थियो । घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललेका अनुसार घटना अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने बताउनुभयो । गाडीको भने पहिचान भइसकेको छ । उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्राम लेखिएका २६ थान र ५०० ग्राम लेखिएको एक थान धातु प्रहरीले बरामद गरेको थियो । उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ ।
महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको छ । उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।
[sidebar name="button post"]