काठमाडौं , १५ साउन । हवाई मार्गलाई मौसमले रोक्यो , जमिनको मार्गलाइ पहिरोले छेक्यो । बजारको अवस्था सामन्य अवस्थामा जस्तो छैन् हिमालपारिको जिल्ला मुस्ताङमा ।
केहि मात्रामा हुने चार्टर्ड उडान पनि रोकिएको चार दिन भयो , बाटो रोकिएको त छब्बीस दिननै पुगिसक्यो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षतिले पिरोल्छ , वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्याले पिरोल्छ सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्डअन्तर्गत घोप्टेभिरमा असार १९ गते भीषण वर्षा हुदा सडक बाढीले बगायो एक हप्ता भित्रमानै असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठूलो बज्रपात भयो । उता जिल्ला प्रशासन कार्यालय झण्डै एक महिना बित्न लाग्दा समेत बगाएको सडक मर्मत गर्न नसकिएको जानकारी मात्र दिन्छ । “ वर्षा रोकिँना साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै सडक बगाएको छ , घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, बर्षा थपियो , ठाउँ ठाउँमा फेरि पहिरो खस्यो , एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्। ” प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो ।
मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनका अनुसार “ खाद्यान्नको अभाव अहिलेलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न । । तेल , ग्यास छैन ल्याउने बाटो बन्द छ । ” सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा अभाव बढेको छ । “किसानका बारीमा आलु खन्ने बेला भयो , गाजर पनि राम्रो फलेको छ । बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् , सडक बन्द हुदा सबैभन्दा धेरै मर्कामा किसान परेका छन्। ” घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आश बहादुर थकालीले बताउनुभयो ।