सर्वोच्चको फैसलाविरुद्ध सरकारी वकिल पुनरावलोकन

साउन ८ ।  पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक पूर्वडीआईजी रञ्जन कोइरालालाई सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनdf जाने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनको लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी चन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गएको असार १५ गते आठ वर्ष ६ महिना मात्रै थुना बसे पुग्ने भन्दै थुनामुक्तको आदेश दिएपछि कोइराला बिहीबार बिहान थुनामुक्त भएका थिए ।

उनलाई जिल्ला र पुनरावेदन अदालतले जन्मकैद अर्थात् २० वर्षको कैद सजायको फैसला गरेको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो । २०६८ पुस २७ गते रञ्जनले पत्नी गीताको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएको प्रहरीले जनाएको छ । २०६८ साल माघ ८ गते कोइरालालाई थानकोटबाट पक्राउ गरी मुद्दा चलाइएको थियो ।