साउन ८ । सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको चार महिनाको मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको लकडाउन अवधिको चार महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो ।
सिभिल मल व्यापार सङ्घका अध्यक्ष रत्नबहादुर घिमिरेले चैतदेखि असारसम्म चार महिनाको ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी तीन महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवस्थापन पक्षसँग सहमति भएको बताउनुभयो ।
कात्तिकदेखि एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उहाँले बताउनुभयो ।
सरकारले साउन ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरे पनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए । पसल सञ्चालन भए पनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए । व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचोसमेत हस्तान्तरण गरेका थिए ।