ललितपुरको महालक्ष्मी नगरपालिकामा लकडाउन केहि खुकुलो हुने

साउन १ । ललितपुरको महालक्ष्मी नगरपालिकामा लकडाउन केहि खुकुलो हुने भएको छ । महालक्ष्मी नगरपालिकाले शुक्रबारदेखि लकडाउन खुकुलो बनाउने भएको हो । शुक्रबार बिहान ५ बजेदेखि लकडाउन खुकुलो बनाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएको भन्दै गएको असार २४ गतेदेखि वडा नम्बर ७, ८ र ९ मा औषधि र खाद्यान्न बाहेक अरु उद्योग तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख रामेश्वर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी कोरोनाको शंकामा ७४ जना र समुदायका १ सय ३९ जना गरी २ सय १३ जनाको पीसीआर परीक्षण गराएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।