साउन १ । काठमाण्डौको चन्द्रागिरी नगरपालिका १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका ४ घर भएका पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका ७ घर भएका बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका ६ घर भएका बिनोद पुलामी र लमजुङ मस्र्याङदी गाउँपालिका २ घर भएका उज्जवल गुरुङ रहेका छन् ।
कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।