लागूऔषध गाँजासहित चालक नियन्त्रणमा

२० माघ, काठमाडौं । नेपाल प्रहरीले अटोमा गाँजा बोक्ने चालकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट लागूऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-२ बस्ने ४१ वर्षीय राजेन्द्रबहादुर दमाइ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई हेटौंडा उपमहानगरपालीका-१९ नेवारपानीस्थित सडकखण्डबाट मंगलबार पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.२.ह. ४१०९ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उनी पक्राउ परेका हुन् ।प्रहरीले चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किजी गाँजा, ६७ हजार नगद र भारु। २ हजार ५ सय पनि बरामद गरेको छ ।