आजका मुख्य समाचारमा
गृह मन्त्रालयले विप्लवका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारको निर्देशन दिएको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको हो ।
एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ ।
केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै-छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले यस्तो जानकारी दिएको हो
दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ ।
म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह फेरि निर्वाचन आयोग जाने तयारी गरिरहेको छ । व्यवहारिक रूपमा पार्टी विभाजन भएता पनि कानुनी हिसाबले नेकपा अहिले पनि एउटै पार्टी भएकाे कुरा यस अघि नै निर्वाचन आयाेगले बताइसकेकाे छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताउनुभएको छ ।