२० फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह फेरि निर्वाचन आयोग जाने तयारी गरिरहेको छ । व्यवहारिक रूपमा पार्टी विभाजन भएता पनि कानुनी हिसाबले नेकपा अहिले पनि एउटै पार्टी भएकाे कुरा यस अघि नै निर्वाचन आयाेगले बताइसकेकाे छ । तर, आधिकारिकताको गाँठो फुक्ने भन्दा पनि झनै कसिने तर्फ उन्मुख छ ।
निर्वाचन आयोगबाट नेकपा विवादबारे कुनै पनि निर्णय नआएकाे भन्दै प्रचण्ड-नेपाल समूह आयोग जान लागेको हो । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो । त्यस्तै यो समूहले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो ।
तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन । ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–नेपाल समूह असन्तुष्ट बनेका छन् । उक्त समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो ।











