रमिता दंगाल
३ भदौ, अबका १५ दिनमा झण्डै १० वटा चाडपर्व, मेला, उत्सव तथा दिवस परेका छन् । चाडपर्व, उत्सव घरमै बसेर मनाउन सरकारले स्वास्थ्य मापदण्ड जारी गरेको छ ।
यसैगरी मापदण्ड कार्यान्वयन गर्न गृह मन्त्रालयले काठमाण्डौ उपत्यका सहित सबै जिल्लामा परिपत्र पनि गरेको छ । कोरोना संक्रमणको जोखिम थप बढ्न नदिन, मठमन्दिर तथा सार्वजनिक ठाउँमा हुने भिडभाड तथा जमघटमा नगर्न सरकारले भन्दै आएको छ ।
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा रहेको थली प्रहरी चौकीले के कस्ता सुरक्षा योजना र कार्यान्वयनको काम गर्दै आएको छ त ? यसबारेमा महानगरीय प्रहरी प्रभाग थलीका, प्रहरी नायब निरिक्षक रामेश्वोर खड्कासँग कागेश्वरी खबरका सहकर्मी रमिता दंगालले कुराकानी गर्नुभएको छ ।
आज कुशे औँशी, लगत्तै तीज सहित अरु चाडपर्व आइसकेका छन्, यस्ता मेलापर्वमा हुने भिडभाड रोक्न मुख्य योजना के छ ?
पहिलो त सरकारको कार्ययोजना छ । स्वास्थ्य मापदण्ड जारी भएको अवस्था हो । मंगलबार मात्रै सरकारले एक हप्ताका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । जुन आजरातीदेखि कार्यान्वयन हुन्छ । सरकारले धार्मिक स्थलहरु बन्द गर्ने भनेर जुन निर्देशन गरेको छ, त्यहि अनुसार हामीले पनि विभिन्न धार्मिक स्थल तथा मठमन्दिरहरुमा केहि दिनका लागि राउण्ड अप डिउटी गर्ने गरेका छौँ ।
त्यसैगरी चोक चोकमा दुई दुई जना पिकेट राख्ने गरेका छौँ । साथसाथै मठ मन्दिरको भिडभाड मात्र होइन खाद्यान्न, दुध, बाहेक अरु सबैजसो पसलमा हुने भिडभाडलाई बन्द गर्ने नगरपालिकाको निर्देशन छ । त्यसै अनुसार काम गरेका छौ । मठ मन्दिरहरुमा बढी भिडभाड हुन सक्छ कि भनेर राउण्ड अप र पिकेटहरु खटाएका छौँ ।
अहिले सम्म जनतालाई सचेतना जगाउने के कस्ता कार्यक्रम भइरहेको छ ?
हामीले जनचेतना फैलाउनको लागि माइकिङ्ग सुरु गरेका छौँ । भाडामा गाडी लिएर हामीले दिनदिनै संक्रमण बढ्दैछ ,मास्क प्रयोग गर्नुहोला, आफैँ सचेत रहनुहोला भनेर बिहान र बेलुका माइकिङ्ग गर्ने गरेका छौँ । साथै नागरिकलाई सचेत गराउनका लागि जरिवाना सम्बन्धि पनि सचेत गराएका छौँ ।
मास्क नलगाउनेहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार सय रुपियाँ जरिवाना पनि तिराउने गरेका छौँ । मास्क किन्न नसक्नेहरुको लागि भने हामीले नै सम्झाई बुझाई एक एक थान मास्क दिएर पठाउने गरेका छौँ ।
संक्रमित बढ्दै गएका कारण स्थानीय तहसंग के कसरी समन्वय गरिरहनु भएको छ ?
हिजो भर्खरै पनि स्थानीय तहसंग हामीले बैठक बसेका थियौं । कागेश्वरी मनोहरा नगरपालिकासंग कोरोनाको महामारीमा कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल गरेका थियौं । हिजो बसेको बैठकमा हामीले के के खोल्न पाइने र के के बन्द गर्ने जस्ता कुराकानी गरेका थियौं । हामीले बेला बेलामा वडाहरुसंग र जनप्रतिनिधिहरुसंग पनि सहकार्य गरिरहेका हुन्छौं । अब सरकारले निषेधाज्ञा लागु गरेपछि त्यसैअनुसार सुरक्षा कार्ययोजना लागू हुन्छ ।
स्वास्थ्य मापदण्ड नमान्ने तथा अटेर गर्नेहरुलाई कसरी सचेत गर्दै आउनु भएको छ ? के कस्ता कारबाहीहरु भैरहेका छन् ?
हामीहरुको स्वास्थ्य मापदण्ड नमान्ने तथा अटेर गर्नेहरुको हकमा पहिले चाहीं एक,दुई घण्टा बाटो मै उभ्याई दिने गरेका थियौं तर अहिले चाहिँ बाटोमा उभ्याउने काम हटाएर सम्झाउने गरेका छौँ । यति गर्दा पनि नटेर्नेहरुलाई कार्यलयमा लगेर एक, दुई घण्टा सम्झाएर सचेतना गर्ने गरेका छौँ । अझै पनि अटेर गर्ने गर्नु भयो भने चाहिँ जुन नीति सरकारले कार्यान्वयन गरेको छ, त्यो अनुसार पनि जान सक्छौँ ।
नागरिकहरुले आफु स्वयमले बुझ्नु पर्ने र आफु सुरक्षित रहन के कस्ता विधि अपनाई अघि बढ्नु राम्रो देखिन्छ ?
मुख्य कुरा त यसमा म के भन्न चाहन्छु भने मास्क र व्यक्ति व्यक्ति बिचको दुरी नै उत्तम देखिन्छ । बाहिर निस्किनु परे दुरी कायम गरेर हिड्ने ,मास्क लगाउने गर्नुपर्छ । यो मेरो आफन्त हो यो मेरो दिदी, बहिनी भनेर दुरी कायम नगर्दा संक्रमण बढ्दै गएको अवस्था छ । त्यसैले घर परिवारमै पनि भौतिक दुरी कायम गर्नुपर्ने देखिन्छ ।
अन्त्यमा जमघट वा भिडभाड भए के कारबाही गर्नुहुन्छ ?
पहिलो चरणमा हामीले सम्झाई बुझाई गर्छौ । त्यस्तो कारबाही नै भनेर केहि गरेका छैनौँ । पटक पटक अटेरी भए संक्रामक रोग ऐन अनुसार कारवाही हुन्छ । यो ऐनमा १ महिना सम्म थुनामा राख्ने र सय रुपैयाँ सम्म जरिवाना गर्ने व्यवस्था छ । सबै भन्दा ठुलो कुरा चेतना हो । त्यसैले सम्झाएर बुझाएर छोडदिने गरेका छौँ । गाडीको हकमा अहिलेसम्म जताबाट आएको हो उतै फर्काउने गरेका छौ ।








