२० साउन, काठमाडौं । नेपाल आयल निगमले देशभरीका प्रादेशिक, शाखा र केन्द्रीय कार्यालयका दर्जन भन्दा बढी कर्मचारीको सरुवा गरेको छ । लामाे समयदेखि एउटै विभागमा कार्यरत रहेका तथा कम्तिमा एक वर्ष प्रमुखको जिम्मेवारीमा रहेकाहरुको सरुवा गरिएको निगमले जनाएको छ ।
आन्तरिक नियन्त्रण तथा नियमन शाखाको जिम्मेवारी वीरेन्द्र गोइतलाई दिइएको छ । यसैगरी एलपिजी ग्यास तथा एभिएसन विभाग प्रमुख निर्देशक दीपक बराललाई वितरण विभाग प्रमुख बनाइएको र उनको ठाउँमा नेत्र काफ्लेलाई राखिएको छ । काफ्ले निगमको आन्तरिक नियन्त्रण तथा नियमन शाखामा कार्यरत थिए ।
प्रशासन विभागको जिम्मेवारी इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुख पूर्णप्रसाद रिजाललाई तोकिएको छ । रिजालको ठाउँमा विराटनगर प्रादेशिक डिपो प्रमुख अशोक शाहलाई ल्याइएको छ । बागमती प्रदेश इन्धन डिपो, अमलेखगन्ज, थानकोट डिपो प्रमुख प्रदीप यादव, गण्डकी प्रादेशिक कार्यालय, कास्की पोखरा र प्रदेश दुई डिपो महेन्द्रनगरका प्रमुखहरुको भने सरुवा गरिएको छैन ।
नकुल भण्डारी प्रदेश एक वितरण डिपो विराटनगरको प्रमुखमा सरुवा भएका छन् । प्रदेश ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा प्रमुखमा प्रलयंकर आचार्यको सरुवा भएको छ । यसैगरी भैरहवाका कार्यालय प्रमुख सुरज शाहलाई केन्द्रीय कार्यालयको गुणस्तर नियमन विभागमा पदस्थापन गरिएको छ ।
नेपालगन्ज डिपो प्रमुखमा कमला न्यौपाने सरुवा हुनुभएको छ । यस अघि उनी केन्द्रीय कार्यालयमा थिइन् । प्रादेशिक कार्यालय सुर्खेतका प्रमुखमा शिवराज भण्डारीको सरुवा भएको छ । त्यहाँ कार्यरत दीपक घिमिरे प्रधान कार्यालय आएका छन् । यसैगरी सीतारञ्जन दासलाई ७ नम्बर प्रादेशिक डिपो धनगढीमा पठाइएको छ भने त्यहाँ रहेका सर्पराज शर्मा भैरहवा सरुवा भएका छन् ।