Ad #144479

१३ पुष, काठमाडौं । तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता आउँदाे जनवरी ६ तारिखमा हुने भएको छ । तालिवान समूह र सरकारबीच दोहाको एक होटेलमा सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता सुरू भएको थियो तर वार्ता जनवरी ५ सम्मका लागि स्थगित भएको छ ।

वार्तामा मध्यस्थता गर्ने बताएका केही देशले कोरोना महामारीको  कारणले आफ्नो प्रस्तावलाई अघि बढाउन ढिला भइरहेका समय वार्ताको नयाँ स्थान र मिति तय भएको छ । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहे पनि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानमा फर्किन नमानेको समाचार संस्था एएफपीले जनाएको छ ।

शान्तिवार्ताले तालिवान र वासिङ्टनबीच गएकाे वर्षको फेब्रुअरीमा हस्ताक्षर गरेको महत्त्वपूर्ण अमेरिकी सेना फिर्तासम्बन्धी सम्झौता पछ्याउनेछ । सम्झौताअनुसार आउँदाे वर्षको मेमा सबै विदेशी सैनिकहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् ।