भदौ ३, चीनले यो वर्षको अन्तिमसम्म कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ ।
चीनको कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र अबको ४ महिनाभित्र बजारमा आइसक्ने घोषणा गरेको बिबिसीले जनाएको छ । सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स युएईमा चलिरहेको छ ।
सिनोफार्मका प्रमुख लिउ जिंगझेन आफैँले पनि परीक्षणका लागि खोप लगाएको र अहिलेसम्म कुनै नकारात्मक असर नगरेको बताउनुभएको छ । चीनको बेइजिङ र वुहानमा एक वर्षमा क्रमश १० दशमलव २ करोड र १० करोड डोज खोप उत्पादन गर्ने प्रयोगशाला रहेको चीनले दाबी गरेको छ ।
यो खोप दुई डोज लगाए बापत एक हजार युआन अर्थात एक हजार ७ सय रुपैयाँ पर्नेछ । तर चीनकै कतिपय संचार माध्यमले भने यो रकम ग्रामिण क्षेत्रमा बस्ने र कम आए भएकालाई महङगो पर्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
अहिले विश्वमा झण्डै २ सय वटा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण चलिरहेको छ भने २० भन्दा धेरै मानव परीक्षणको चरणमा रहेका छन् ।









