विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
कोरोनाभाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियमहरु घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ ।
स्पेनको पर्यटन उद्योगले नयाँ चुनौतीको सामना गर्नु परेको छ । बेलायत सरकारले स्पेन भ्रमण गर्ने बेलायती हरेक पर्यटकले स्वदेश फर्किएपछि अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको छ । बेलायती पर्यटक र टुर अपरेटर्सले बेलायतीहरुको भ्रमण रद्द गरेका छन् ।
हङकङमा कोरोनाभाइरसको नयाँ संक्रमण शुरु भएपछि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउन आदेश दिएको छ । बेल्जियमले पनि सामाजिक दूरीका नियममा कडाई गर्न थालेको छ ।
अमेरिकामा ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको संयुक्तराज्य अमेरिकामा सोमबार साँझ थप ५७ हजार व्यक्ति पोजेटिभ देखिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितमध्ये एक लाख ४७ हजार ५८८ जनाको मृत्यु भएको छ ।
आइतबारसम्म लगातार १२ दिनसम्म अमेरिकामा दैनिक संक्रमितको संख्या ६० हजारको हाराहारीमा रहेको र अमेरिकामा एकै दिन ७० हजारभन्दा बढीमा कोरोना संक्रमित समेत भेटिएका थिए ।
विश्व स्वास्थ्य संगठन डब्लु एचओ ले भने देशहरुका सीमाहरु बन्द गर्न जरुरी नरहेको बताएको छ । विश्वको अर्थतन्त्रका लागि, विश्वका गरिबका लागि यो दिगो रणनीति होइन ।भिन्नभिन्न मुलुकमा कोरोनाभाइरस भिन्नभिन्न शैलीमा फैलिने गरेकाले पनि सबै मुलुकलाई एकै डालोमा राख्न नहुने डब्लु एच ओका आपतकालीन निर्देशक माइकल रायनले जानकारी दिनुभयो ।