धौलागिरि अस्पतालमा बिरामीको लागि लिफ्ट निर्माण

अस्पतालको भौतिक पूर्वाधार र अन्य सेवा विस्तार भएसँगै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले लिफ्ट निर्माण गरिएको हो । अस्पतालको ‘बी’ ब्लकमा लिफ्ट निर्माणको काम अन्तिम चरणमा पुगेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।

यससँगै लिफ्ट नहुँदा सिँढी अपाङ्गमैत्री याम्म चढेर माथिल्लो तलामा पुग्नुपर्ने बिरामीको समस्या र सकसको बाध्यता अन्त्य हुनेछ । लिफ्ट निर्माणका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले रु ४१ लाख २४ हजार ५०० विनियोजन गरेको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो ।

केही समय अगाडि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना सङ्क्रमितको उपचार गराई राखेको धौलागिरि अस्पताल बागलुङ आउँदा अस्पतालको सेवा गुणस्तर र भौतिक संरचनाको स्तरोन्नति गर्ने उद्घोष गर्नुभएको थियो ।

“अस्पताललाई अपाङ्ग र बिरामीको सेवाग्राहीमैत्री बनाउनको लागि सबैतिरबाट सुझाव आएको छ, सबैको सल्लाह र अस्पतालको स्तर वृद्धि गर्ने नीतिबमोजिम लिफ्ट जडान गरिएको छ” गौतमले भन्नुभयो, “यो सम्पन्नपश्चात अपाङ्ग भएका बिरामीसहित सबै खालका बिरामीलाई सहज हुनेछ ।”

रु ४१ लाखमा लिफ्ट निर्माण गर्ने गरी सयपत्री सोलुशन प्रालिले जिम्मा लिएको हो । निर्माण कम्पनीले साउन १५ सम्म काम सक्ने सूचना अधिकारी गौतमको भनाइ छ ।

गत आर्थिक वर्षमा नैै लिफ्ट निर्माण गरी सक्ने भनिए पनि बन्दाबन्दीका कारण सम्पन्न गर्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष केबी रानाले बताउनुभयो ।