पोखराका पर्यटन व्यवसायी साउन १५ देखि होटल सञ्चालनको तयारीमा जुटेका छन् । पश्चिमाञ्चल होटल सङ्घको अनुसार सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेका छन् ।
पश्चिमाञ्चल होटल सङ्घ अहिले होटल सञ्चालनको आन्तरिक कार्यमा जुटेका छ । लामो बन्दले होटलको आन्तरिक मर्मतसम्भार, सरसफाइ, कर्मचारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर होटल सञ्चालनको पूर्व तयारीभइरहेको छ । पोखरामा करिब ७०० पर्यटकीय होटल रहेका छन्, तीमध्ये सङ्घमा आवद्ध ४०० होटल रहेको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । उहाँले अहिले अफ सिजन भएकाले अक्टोबर नोभेम्बरमा पर्यटकीय मौसमका लागि कसरी अगाडि बढ्ने र पर्यटकलाई कसरी भित्र्याउने भन्ने रणनीति पनि तय गरिने बताउनुभयो ।
साउन १५ गतेदेखि होटल सञ्चालन भन्दा पनि सञ्चालनको पूर्व तयारीमा जुट्ने पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले बताउनुभयो । अन्तर्राष्ट्रिय अभ्यास हेरेर नेपाल सरकारले पनि पर्यटकका लागि मापदण्ड बनाएर पर्यटनमैत्री वातावरणका लागि पहल थाल्नु पर्छ । पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रर्वद्धनलगायतका विषयमा केन्द्रित रहने पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले बताउनुभयो
पोखरामा ७०० होटल तथा रिर्सोट रहेको त्यसमा आफ्नो लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब रहेको छ भने १२ हजार २९८ ले रोजगारी पाएका छन् । त्यसैगरी रेष्टुरेन्ट तथा बारमा एक अर्ब आफ्नो लगानी र तीन अर्ब बैंकको लगानी रहेको छ भने एक हजार ५०० ले रोजगारी पाएका उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रको खर्बौंको लगानी डुब्दैछ, अब कोभिड–१९ को जोखिमबाट जोगिन स्वास्थ्य सतर्कता पूर्णरुपमा अपनाएर अघि बढ्नुपर्ने उपाध्यक्ष भट्टराईले बताउनुभयो ।