अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ। शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।
लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख सो गोलीकाण्ड भएको थियो। गोली प्रहारमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन्।
घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको केएबिसी टेलिभिजनले जनाएको छ। लस एञ्जलसको उक्त क्षेत्रको एक सडकमा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ।
त्यस्तै सडकमा हिँडीरहेका अरु चार जना घाइते भएका पनि सो टेलिभिजनले जनाएको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरी गरेको बताइएको छ। लस एञ्जलसमा भएको एक हप्ता यताकै यो दोस्रो गोली प्रहार हो।