क्यानका केन्द्रीय सदस्यले मागे अध्यक्षसहित पदाधिकारीको राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहितका पदाधिकारीको राजीनामा मागिएकाे छ ।

क्यानकै सात केन्द्रीय सदस्यले आज पत्रकार सम्मेलन गरी अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच पदाधिकारीको राजीनामा मागेका हुन् ।

क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चन्दसहित सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का छन् ।

पत्रकार सम्मेलनमार्फत केन्द्रिय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा मागेका हुन् ।

उनीहरूले नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै पदाधिकारीको राजीनामा मागेका हुन् । उनीहरूले नेपाली टी–२० लिगको मुख्य दोषी क्यानको कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्य रहेको दावी गरेका छन् ।

आआफ्ना पदबाट राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका उनीहरूले नेपाली क्रिकेटलाई जोगाउन दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।

[sidebar name="button post"]