२४ असार, एजेन्सी। राष्ट्रपति जोभिनल मोइसको हत्यामा संलग्न भएको आशंका लागेका चार व्यक्तिको प्रहरीको गोली लागेर ज्यान गएको छ।
हाइटी प्रहरीका अनुसार बुधबार राष्ट्रपति मोइसको घरमै भएको हत्यापछि भएको खोजी अभियानको क्रममा घटनामा संलग्न भएको आशंकामा रहेका चारजनाको गोली लागेर मृत्यु भएको हो। अरु दुईजनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अझै केही सम्भावित अपराधीको खोजी जारी रहेको अधिकारीहरुले बताएका छन्। राजधानी पोर्ट–ओ–प्रिन्समा उनीहरुको खोजी भइरहेको हो।
५३ वर्षका मोसेको बुधबार राष्ट्रपतिको निजी निवासमा गोली हानेर हत्या भएको थियो भने उनकी पत्नी आक्रमणमा घाइते भएकी छिन्। राष्ट्रपति पत्नीलाई उपचारका लागि फ्लोरिडा लगिएको छ । उनी गम्भिरमा अवस्थामा छिन् ।
यस हत्याकाण्ड लगत्तै हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले जनतासँग शान्त रहन अपिल गरेका छन् । उनले राष्ट्रव्यापी संकटकाल पनि घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलगायत नेताहरुले घटनाको निन्दा गरेका छन् ।











