१३ असार, नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल संक्रमितको सङ्ख्या तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनदेखि दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा ५७ हजार ९४४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरुले भारतमा अहिले पाँच लाख ८६ हजार ४०३ जना अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । यो सङ्ख्या पनि घट्दै गएको देखिएको छ ।
भारतमा कुल संक्रमित मध्ये ९६.७५ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्का छ । कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल दुई करोड ९२ लाख ५१ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये तीन लाख ९५ हजार ७५१ जनाको मृृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये १.९४ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामा रहेका छन् ।
भारतमा अहिलेसम्म ३२ करोड १७ लाख मानिसलाई कोरोनाभाइरसको खोप लगाइएको छ । ती मध्ये ६४ लाख २५ हजार खोप शनिबार एक दिनमा मात्रै लगाइएको हो ।









