ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट दुई वर्षका लागि बन्द

२२ जेष्ठ, एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उनको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध लगाइएको थियो ।

जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा उनीमाथि प्रतिबन्ध लागेको थियो ।

त्यतिबेला फेसबुकसँगै इन्स्टाग्राम र ट्वीटरले तत्कालै ट्रम्पको अकाउन्ट बन्द गरेका थिए । फेसबुकले अब नेताहरुको पोस्टलाई कुनै पनि सुरक्षा नदिइने बताएको छ । फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध गएको जनवरीदेखि नै लागू हुनेछ ।

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले सन् २०२३ को जनवरीमा पुनः आफ्नो अकाउन्ट सञ्चालन गर्न पाउनु हुने बीबीसीले जनाएको छ ।