अमेरिकामा फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत

२८ वैशाख, एजेन्सी। अमेरिकाले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ ।

खोप लगाउन स्वीकृति प्रदान गरेको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले यो निर्णय कोरोना भाइरसको महामारीसँगको युद्धमा महत्वपूर्ण कदम रहेको बताएको छ ।

एफडिएका कमिस्नर डा. ज्यानेट वूडककले सार्वजनिक जीवनलाई सामान्य तर्फ लैजाने र महामारी अन्त्यको प्रयास स्वरुप खोपलाई स्वीकृति प्रदान गरिएको बताएकी छन् ।

एफडिएले सोमबार फाइजरको खोप बालबालिका तथा किशोरकिशोरीमा आकश्मिक प्रयोगका लागि स्वीकृत गरेको हो । सो खोप यसअघि नै १६ वर्षमाथिकालाई दिईँदै आइएको छ ।

फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ सय ६० जनामा गरेको परीक्षणको नतिजापछि सुरक्षित र प्रभावकारी देखिएकाले खोपलाई स्वीकृति दिइएको हो ।

परीक्षणमा सहभागी मध्ये आधालाई फाइजरको खोप तथा आधालाई डमी खोप दिइएको थियो । डमी खोप लगाएका मध्ये १८ जनाका कोरोना भाइरसको लक्षणसहितको संक्रमण देखियो । तर फाइजरको खोप लगाएका कसैलाई पनि संक्रमण देखिएन ।

एफडिएले स्वीकृति प्रदान गरेपछि अब सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को सल्लाहकार बोर्डले परीक्षणको नतिजा मूल्यांकन गरेर पारित गरेपछि मात्रै खोप लगाउन थालिने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो जुलाई ४ सम्ममा कुल जनसंख्याको ७० प्रतिशतमा खोप लगाइसक्ने लक्ष्य रहेको बताएका छन् । खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो ।

मोदेर्ना तथा जोन्सन एण्ड जोन्सनले पनि आ–आफ्ना खोप १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा सुरक्षित तथा प्रभावकारी रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरिरहेका छन् । मोदेर्नाको अध्ययनको नतिजा चाँडै आउने सम्भावना छ ।

फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ मिहनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्नका लागि पनि परीक्षण गरिरहेका छन् । ११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २०२२ को सुरुमा तयार हुने दुबै कम्पनीले बताएका छन्।

[sidebar name="button post"]