भारतमा गंगा नदी किनारमा भेटिए कम्तीमा ४० शव

२८ वैशाख, एजेन्सी। भारतको उत्तर प्रदेश र बिहार राज्यको सीमा क्षेत्रमा गंगा नदीको किनारमा कम्तीमा ४० जनाको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । सरकारी अधिकारीका अनुसार बगाएर ल्याएको अवस्थामा शव सोमबार भेटिएको हो ।

ती शवहरु कसरी नदी किनारमा पुगे भन्ने स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरुले भने कोरोना भाइरसको संक्रमणका कारण निधन भएकाहरु हुन सक्ने जनाएका छन् ।

केही स्थानीय सञ्चारमाध्यमका अनुसार शवको संख्या १०० सम्म रहेको छ । शवको अवस्था हेर्दा केही दिन अघि नै मृत्यु भएकाहरुको हुन सक्ने बताइएको छ ।

स्थानीय सरकारी अधिकारी अशोक कुमारले बिबिसीसँग भनेका छन्, ‘यी शवहरु उत्तर प्रदेशबाट आएको हुन सक्ने सम्भावना छ ।’ शवहरु गाडिने वा जलाइने उनले बताएका छन् । भेटिएका शवहरु सुन्निएका तथा आधा जलेको अवस्थामा रहेको अधिकारीहरुले बताए । उत्तर प्रदेशमा गंगा नदीको किनारमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्ने क्रममा जल्दाजल्दै शव बगेको हुन सक्ने भारतीय टेलिभिजन च्यानल एनडिटिभीले जनाएको छ ।

केही स्थानीय बासिन्दा तथा स्थानीय पत्रकारहरूले बीबीसी कुरा गर्दै दाउराको अभाव तथा अन्तिम संस्कारको बढ्दो खर्चले गर्दा कतिपय परिवारहरू शवलाई सोझै नदीमा हालिदिन बाध्य भएका हुनसक्छन् भनेका छन् ।

उत्तर प्रदेश भारतको सबैभन्दा बढि जनसंख्या युक्त राज्य हो र कोरोना भाइरस महामारीको दोस्रो लहरबाट अति प्रभावित भएको छ । कोभिड–१९ का कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि चितास्थलमा ठाउँ पुगेको छैन ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतलाई नराम्ररी प्रभावित गरिरहेको छ।

[sidebar name="button post"]