म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गयो

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ ।

मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।

अहिलेसम्म १६४ जना प्रदर्शनकारीको ज्यान गएको आर्मीले बताएको छ । तर एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स (एएपिपि) का अनुसार हालसम्म कम्तीमा २६१ जनाको ज्यान गएको छ ।

मंगलबार सेनाले प्रदर्शनकारीको निधनप्रति दुःख व्यक्त गरेको थियो । तर उसले देशमा अस्थिरता निम्त्याउनमा प्रदर्शनकारीकै भूमिका रहेको आरोप लगाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले पितालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी सात वर्षे बालिकालाई लागेको हो ।

गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् ।

[sidebar name="button post"]