आजदेखि लोकसेवाका पदाधिकारीको कार्यकाल सकियो, काम कारवाहीमा गम्भीर असर

११ चैत्र, काठमाण्डौ। लोकसेवा आयोग आजदेखि पदाधिकारीविहीन हुँदा आयोगको काम कारवाहीमा गम्भीर असर पर्ने देखिएको छ। अध्यक्ष मैनालीसहित चार जना सदस्यको ६ वर्षे कार्यकाल मंगलबार सकिएको छ। सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हादेव राय, कृष्णचन्द्र झाको पनि कार्यकाल सकिएको हो।

मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहीन हुँदा आयोगमा गम्भीर असर पर्ने अवस्था रहेको बताए।उनले तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परीक्षा रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने पनि बताए। निजामति प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्ने अध्यक्ष मैनालीको विश्वास छ।

मैनालीले लोकसेवा आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ। आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्ति भन्दा बढी सुविधा पाउने गरेको बताए।

मैनालीले निजामती सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको पनि बताए। संघीय संसदमा विचाराधीन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको छ। २०७१ चैत ११ गते सुशील कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनालीसहितका पदाधिकारी नियुक्त गरेको थियो।

[sidebar name="button post"]