२३ फागुन, एजेन्सी। कोरोना भाइरसको महामारीका कारण जीविकामै समस्या भोगिरहेका अमेरिकीका लागि सहयोग गर्ने उद्देश्यसहित राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेज समबन्धि विधयेकले प्रमुख अवरोध पार गरेको छ ।
१.९ ट्रिलियन (१९ खर्ब) अमेरिकी डलर बराबरको राहत प्याकेजसहितको विधेयक शनिबार माथिल्लो सदन सिनेटबाट पारित भएको बिबिसीले जनाएको छ ।
बाइडेनकै पार्टीको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले आउँदो मंगलबार सो विधेयक पारित गर्ने सम्भावना छ । चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी नागरिकलाई सहयोग गर्ने मार्गमा सिनेटबाट भएको विधेयक पारित प्रमुख फड्को रहेको राष्ट्रपति बाइडेनले बताएका छन् ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख २३ हजारको ज्यान गइसकेको छ । दुई करोड ९० लाख संक्रमित भएका छन् ।
महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ । हाल अमेरिकामा बेरोजगारी दर ६.२ प्रतिशत छ । महामारी सुरु भएयता तेस्रो पटक अमेरिकी सरकारले प्रभावितका लागि राहत प्याकेज ल्याएको हो । यो चरणको राहत प्याकेजमा प्रभावित नागरिकलाई १४ सय डलर बराबरको चेक प्रदान गरिने छ ।
रिपब्लिकनहरुले बाइडेनको योजना निकै खर्चिलो रहेको भन्दै विरोध गरेका छन् । केही डेमोक्र्याटहरुले पनि प्याकेजका केही व्यवस्थामा विरोध जनाएका छन् । नयाँ योजना अनुसार आउँदो सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता समेत दिइने छ । सो भत्ता भने हप्ताको ४०० डलरबाट घटाएर ३०० डलर बनाइएको छ ।
सिनेटबाट पारित भएको विधेयकलाई तल्लो सदनले पास गरेपछि राष्ट्रपतिले हस्ताक्षर गर्ने छन् र त्यसलाई कानूनी रुप दिने छन् ।












