२३ फागुन, एजेन्सी । यो सिजन इटालियन सिरी ए फुटबलमा समस्यामा देखिएको साबिक विजेता युभेन्टसले शनिबार राति भएको खेलमा जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले लाजिओलाई ३–१ ले पराजित गरेको हो।
कोरियाले १४ औँ मिनेटमा गोल गरेर लाजिओलाई सुरुवाति अग्रता दिलाएको खेलमा ३९ औँ मिनेटमा राबिओतले युभेन्टसका लागि बराबरी गोल गरे ।
त्यसपछि अल्भारो मोराटाले टिमका लागि दुई गोल गरेर जित दिलाएका हुन् । उनले ५७ औँ र ६० औँ मिनेटमा गोल गरेका हुन् । मोराटाले दोस्रो गोल पेनाल्टी मार्फत गरे ।
जितपछि तेस्रो स्थानको युभेन्टसको २५ खेलबाट ५२ अंक भएको छ । दोस्रो स्थानको एसी मिलानको २५ खेलबाट ५३ तथा शीर्ष स्थानको इन्टर मिलानको २५ खेलबाट ५९ अंक छ ।
लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा युडिनेसले सासुओलोलाई २–० ले पराजित गर्दा स्पेजिया र बेनेवेन्तोले गोलरहित बराबरी खेलेका छन् ।












