१० माघ, एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली संघ निराश बनेको छ। यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बीबीसीले जनाएको हाे ।
युरोपका कयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको छ। अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो।
यो खोपलाई हालसम्म संङको नियामक निकायले प्रयोगका लागि स्वीकृत गरिसकेको छैन। यो महिनाको अन्त्यसम्ममा खोपलाई स्वीकृत दिन सकिने समाचारमा जनाइएको छ । कयौँ युरोपेली देशमा संक्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो।
जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ। समाचारका अनुसार म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको छ।
गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो। बेल्जियममा एउटा कारखानाको क्षमता विस्तारको काम भएकाले ढिलो हुने फाइजरले बताएको थियो।
उनले अक्सफर्डरएस्ट्राजेनिकाको खोप स्वीकृतिमा भइरहेको ढिलाइलाई लिएर ईयूप्रति असन्तुष्टि पोखेका छन्। ईयूले हालसम्म स्वीकृति नदिए पनि हङ्गेरीले धेरै मात्रामा स्पुत्निक भी खोप किन्नका लागि रूससँग एउटा सम्झौतामा पुगेको छ।
यो उसको ईयूले चालिरहेको साझा रणनीतिभन्दा भिन्न कदम हो। हङ्गेरीले प्रारम्भिक स्वीकृति दिँदै तेस्रो चरणको मानव परीक्षणका लागि प्रयोग गर्ने बाटो खोलिदिएको छ। हङ्गेरीले हालै चीनको सिनोफार्म किन्नका लागि बेइजिङसँग पनि एउटा सम्झौता गरेको छ।
ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको छ। उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ। ढिलासुस्तीलाई लिएर हङ्गेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टोर अर्बानले ईयूले जिम्मेवारी लिनुपर्ने बताएका छन्।
इटली र पोल्यान्डले उत्पादन घटाउने कदमविरुद्ध कानुनी उपचारमा जाने धम्की दिएका छन्। युरोपेली आयोगले पनि स्वीकृति भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ। इटलीका थुप्रै क्षेत्रले दोस्रो खेपको सुनिश्चितता नभएसम्म पहिलो खेप नै नलगाउने बताएका छन्।











