इरिन हर्नान्डेज भेलास्को/ बीबीसी न्यूज मुन्डो
१० माघ, काठमाडौं । पछिल्ला वर्षहरूमा धेरै प्रगति भएतापनि मस्तिष्क अझैपनि एक जटिल र रहस्यपूर्ण अङ्ग हो जसबारे पूर्ण जानकारी प्राप्त भएको छैन। तर जति थाहा छ त्यसबारे थोरै विज्ञमात्र पूर्ण जानकार छन्। न्यूरोवैज्ञानिक फ्याकन्डो मेन्सले मेन्सलाई आफ्नो अध्ययनको केन्द्र बनाएका छन्।
आर्जेन्टीनामा जन्मिएका मेन्स ले क्याम्ब्रिज विश्वविद्यालयमा विज्ञानको विधामा अनुसन्धान गर्नेलाई दिइने उच्चतम उपाधि पाएका छन्। उनले कैयन् किताब प्रकाशन गरेका छन् अनि सर्वसाधारणलाई न्यूरोसाइन्स वा मस्तिष्कको विज्ञानबारे जानकारी दिने टिभी कार्यक्रममा पनि देखा परेका छन्।
माटियो निरोसँग मिलेर उनले लेखेको पछिल्लो पुस्तक ‘द ब्रेन अफ द फ्युचर’ स्पेनी भाषामा प्रकाशित भएको छ। त्यसमा उनीहरूले नौला प्रविधिहरूको मस्तिष्कमा प्रभाव, न्यूरोइथिक्स तथा सामाजिक समस्यामा मध्यस्थताको रूपमा विज्ञानको भूमिकाबारे चर्चा गरेका छन्।
समाचार जनाइए अनुसार मेन्स भन्छन् मस्तिष्कमात्रै एउटा यस्तो अङ्ग हो जसले आफैँलाई बुझाउन खोज्छ। हामीले गर्ने हरेक क्रियाकलाप-चाहे त्यो सास फेर्ने काम होस् वा यो अन्तर्वार्ता पढ्ने काम होस् वा कुनै दर्शनशास्त्रीय प्रश्न उब्जाउने काम होस्-त्यो सबै मस्तिष्कले नै गराउँछ।
मानव मस्तिष्क ब्रह्माण्डकै सबभन्दा जटिल र रहस्यमयी संरचना हो। तारामण्डलका भएभरका ताराभन्दा धेरै न्यूरोन मस्तिष्कमा हुन्छन्। मानव इतिहासमै हामीले मस्तिष्कबारे पछिल्ला दशकहरूमा सबभन्दा धेरै जानकारी पाएका छौँ।
त्यस्तै हामीले करुणाभाव, भाषा ज्ञान अनि मस्तिष्कको भावनासम्बन्धी संरचना तथा हामीले वरपरको विश्वलाई कसरी हेर्छौ र ग्रहण गर्छौँ भन्ने बारे न्यूरल सर्किटहरूको भूमिकासम्बन्धमा धेरै थाहा पाएका छौँ।
मानसिक तथा न्यूरोलोजिकल रोगहरूको प्रारम्भिक पहिचानमा प्रगति भएका छन्। मस्तिष्कबारे हाम्रो ज्ञानले व्यक्ति तथा समाज दुवै तहमा जीवनको स्तर उकास्ने छ।
मस्तिष्कका निश्चित प्रक्रियाबारे जानेका छौँ। तर अझ पनि समग्रतामा यसको कामबारे जान्न बाँकी छ। साथै नयाँ ज्ञानले नयाँ प्रश्नहरूपनि जन्माएका छन्। हामीले मस्तिष्कका यी रहस्यहरू कहिल्यै थाहा पाउन सकौँला भनेर आफैँलाई प्रश्न गर्न सक्छौँ।
पूर्ण रूपमा उत्तम त म भन्न सक्दिनँ तर पक्कै पनि यो जटिल छ र सम्भावनाहरूले पूर्ण छ। हाम्रो जीवनकालभरि मस्तिष्क निरन्तर परिवर्तन भइरहन्छ। यो लचिलो र अनुकुलनशील अङ्ग हो। न्यूरोप्लास्टिसीटी भनेको स्नायुप्रणालीले परिवर्तनसँग अनुकुलन हुने क्षमता हो। जसले वातावरणमा भएको परिवर्तनको प्रतिक्रियामा न्यूरोनहरूलाई पुनर्सङ्गठित पार्छ।
अर्थात्, हाम्रा अनुभूतिले मस्तिष्कमा स्थायी परिवर्तन ल्याउन सक्छ। यसै प्रक्रियामार्फत् मानव प्रजाति परिवर्तित हुँदै र समयसँगै अनुकुलन गर्दै अघि बढिरहेको छ।
भविष्यको मस्तिष्क कस्तो होला ?
भौतिक शरीर रचनाको हिसाबले शताब्दीऔँसम्म मस्तिष्क परिवर्तन नहोला। अहिले विकसित भइरहेका नयाँ प्रविधिहरूका कारण भविष्यमा हाम्रा मस्तिष्कमा आनुवंशिक इञ्जिनियरिङको प्रभाव पर्ला अनि जैविकप्रविधिले यसको क्षमता विस्तार गर्ने सम्भावना होलान् भनेर हामी ठान्न सक्छौँ।
आजको दिनमा हामीले जीनलाई पनि चलाएर जैविक व्यवहार परिवर्तन गराउन सक्ने भएका छौँ। प्रविधिले कृत्रिम तन्तुहरूको विकास गराएको छ। उदाहरणका लागि प्लास्टिकको छाला वा कृत्रिम रेटिना वा कोक्लियर इम्प्लान्ट।
आगामी केही सय वर्षहरूमा हामीले मस्तिष्कको निर्माण गर्ने न्यूरल तन्तुहरूको पनि सिर्जना वा पुनर्विकास गर्न सक्छौँ होला। यस्तो विकासले अहिले हामीले उपचार गर्न नसकेका डिमेन्सिया जस्ता रोगको उपचारमा महत्त्वपूर्ण फरक पार्न सक्छ।
तपाई हामी सबैलाई थाहा छ, हाम्रो मस्तिष्क केवल कुनै डेटा प्रोसेसर मात्र होइन। हाम्रो मस्तिष्कको क्षमताबारे सोच्नुहोस् जस्तो कि कसरी हामी अरू मानिसको मनबारे सोच्न सक्छौँ र अरूको पीडा बुझ्ने र त्यसबारे प्रतिक्रिया जनाउन सक्छौँ।
करुणा, परोपकार तथा सहयोगजस्ता क्षमता कुनै पनि मेशिनको निम्ति असोचनीय हुन्छ। जबकि हाम्रो जीवनमा ती कुरा आधारभूत हुन्। हामीले बिर्सन हुँदैन कि आधारभूतरूपमा मानव भनेका सामाजिक प्राणी हुन।
दशौँ लाख वर्ष लगाएर विकास भएको हुनाले मस्तिष्कको तहमा हुने परिवर्तन स्पष्ट देखा पर्न पनि हजारौँ वर्ष लाग्छ। हाम्रा विकासक्रमको इतिहास हेर्ने हो भने विगत दुई लाख वर्षहरूमा मानव जातिको भौतिक संरचनामा खासै परिवर्तन देखिएको छैन
त्यसकै केही शताब्दीमै मानव मस्तिष्कमा ज्यादा परिवर्तन होला भनेर भन्न कठिन छ। त्यस्तै डेटा स्मरण गर्ने वा कुनै हिसाबकिताब गर्ने जस्ता केही काम मेशिनले गर्दैमा मस्तिष्कको विकासक्रम पनि उल्टने छैन। तर प्रविधिमा धेरै भर पर्नाले उत्पन्न हुने तनावबाट बच्नुपर्छ किनभने हामीलाई थाहा छ निरन्तरको तनावले हाम्रो शरीर र मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ।
के हामी हाम्रो मस्तिष्क हौँ वा भावना हौँ ?
यो राम्रो प्रश्न हो। हामी दुवै हौँ किनभने यी छुट्टै होइनन्। भावनाहरू हाम्रा मस्तिष्कमा हुन्छन् र हाम्रो जीवनको केन्द्रमा रहन्छन्। तिनले हाम्रो स्मरणमा प्रभाव पार्छन् किनकी हामीले गहिरो गरि अनुभूति गर्ने विषयलाई हामी सजिलै सम्झन्छौँ।
उदाहरणका निम्ति, सबैजनाले सेप्टेम्बर ११, २००१ मा ट्वीनटावरमाथि हमला भएको दिन उनीहरू के गरिरहेका थिए भनेर सम्झन्छन्। तर त्यसको अघिल्लो दिन के गरिरहेका थिए भनेर सम्झन सक्दैनन्।
साथै भावनाहरूले हाम्रा निर्णय क्षमताको प्रक्रियामापनि प्रभाव पार्छन्। साधारण रूपमा भन्नुपर्दा, हामीसँग निर्णय क्षमताको निम्ति दुईवटा प्रणाली छन्स् एउटा स्वचालित र द्रुत हुन्छ जुन विकासक्रमका कारण उत्पन्न स्थिति हो भने अर्को चाहिँ विस्तारै र सोचविचारपूर्ण हुन्छ।
दिनभरि हामीले कैयौँ निर्णयहरू एक सेकेन्डको एक हजारौँ भाग जति छिटो गतिमा लिन्छौँ। ती निर्णय स्वचालित प्रणालीमा आधारित हुन्छन्। यथार्थमा हामी निकै थोरै निर्णयहरूमात्र विस्तारै र धेरै सोचविचार गरेर लिन्छौँ।
कोरोना महामारीले हाम्रो मस्तिष्कमा कस्तो प्रभाव पारिरहेको छ ?
महामारीले हामीले उच्च तहको तनाव दिलाएको छ । महामारीले हाम्रो मानसिक स्वास्थ्मा नकारात्मक प्रभाव पारिरहेको छ। यसले उच्च तहको तनाव दिलाएको छ।
हाम्रा आनीबानीमा परिवर्तन गराइदिएको छ। हामी त्रसित छौँ र आफ्ना निकटका मानिसहरूसँग टाढिनु परेको छ। त्यस्तै यसबाट सिर्जित आर्थिक समस्याले गम्भीर सामाजिक विचलन गराएको छ जसले मनोवैज्ञानिक समस्या उत्पन्न गराउने जोखिम हुन्छ।
लामो समयको क्वारन्टीनले तनाव, भावनात्मक थकान, डिप्रेसन, अनिद्रा, चिन्ता र निराशा बढाउने अध्ययनहरूले देखाएका छन्। त्यसकारण स्वस्थ्य बानीबेहोरा कायम गर्नु निकै महत्त्वपूर्ण हुन्छ जस्तो कि राति राम्ररी सुत्ने, स्वस्थ्य खानपान गर्ने अनि चुरोट, रक्सी वा लागुऔषधबाट टाढै रहने।
हामीले सकेसम्म एउटा नियमित तालिका बनाउनुपर्छ ( सुत्ने, उठ्ने, पढ्ने र कसरत गर्ने एउटा निश्चित तालिका हुनुपर्छ। साथै हामीले हाम्रा सामाजिक बन्धनहरू थप बलियो बनाउनु पर्छ किनभने यी सम्बन्धले हामीलाई सामान्य बनाइराख्छ र आफूलाई लागेको कुरा बाँड्न सघाउँछ।
कतिपय ठाउँमा भौतिकरूपमा भेट्न सम्भव नभए प्रविधिको सहारामा पनि जोडिनुपर्छ। त्यस्तै एउटा कुरा के बुझ्नुपर्छ भने महामारी बेहोरेको यति धेरै महिनापश्चात् पनि उही स्तरको प्रदर्शन वा ऊर्जा वा ध्यान रहला भनेर अपेक्षा गर्न पनि सकिँदैन।











