६ माघ, एजेन्सी । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले मंगलबार राति राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् । अमेरिकाको वासिङटन डीसीमा त्यसको तयारी पनि भइरहेको छ । शपथ ग्रहण समारोहमा कुनै किसिमको अप्रिय घटना हुन नदिन यसपटक सुरक्षा व्यवस्था निकै चुस्त बनाइएको छ ।
सुरक्षा व्यवस्था कायम गराउन २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्तरिक आक्रमणकारीहरुबाटै आक्रमण हुने आशंकासहित सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएकाे छ ।
यद्यपि बाइडनको शपथ ग्रहण भने यसअघिका राष्ट्रपतिको जस्तो नहुने भएको छ । यसअघिका राष्ट्रपतिको शपथ ग्रहणमा हजारौं मानिसहरु उपस्थित हुने गरेका थिए । यसपटक महामारीका कारण भिडमा लगाइएको प्रतिबन्धको कारण शपथ ग्रहण समारोहमा उनीहरु उपस्थित हुन नपाउने भएका हुन् ।

मंगलबार राति हुने बाइडनको शपथ ग्रहण समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने उपस्थित नहुने सम्भावना बढी छ । आगामी राष्ट्रपतिको शपथ ग्रहणमा वर्तमान राष्ट्रपति सहभागी नभएको अमेरिकाको १५० वर्षको इतिहासमा यो पहिलो हुनेछ ।
यसअघि जनवरी ६ मा अमेरिकाको संसद् भजन यूएस क्यापिटलमा भित्र बैठक बसिरहेको अवस्थामा ट्रम्पका समर्थकहरुले हिंसात्मक प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा एक प्रहरीसहित पाँचजनाको मृत्यु भएको थियो ।

बाइडनको शपथग्रहण हुने नेशनल मलअगाडि दुई लाख अमेरिकी झण्डा गाडिएको छ । शपथ ग्रहण समारोहमा कविता वाचनको पनि कार्यक्रम राखिएको छ । यो कविता वाचन ‘निष्ठा र विश्वास’ को कामनाको लागि हुनेछ । लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाउनेछिन् र जेनिफर लोपेजले सांगीतिक प्रस्तुती पनि दिनेछिन् ।












