६ माघ, रुकुम । रुकुम पश्चिम रुकुम पश्चिममा कांग्रेस र नेकपाका कार्यकर्ताबीच कुटाकुट भएकाे छ । विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका हुन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । आठबीसकोट नगरपालिकामा नेकपा ‘दाहाल–नेपाल समुह’ र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको थियो । उनलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेका हुन् ।
शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेको जनाइएको छ । प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
अहिले जिल्लाबाट प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाएपछि स्थिति नियन्त्रणमा छ । झडपमा एक प्रहरी सहायक निरीक्षक ‘असई’, एक जना सशस्त्र प्रहरीका एक जवानसहित दुवैतर्फका केही कार्यकर्ता घाइते भएको बताइएको छ । स्वास्थ्यकर्मी बोलाएर उनीहरुको प्रहरी कार्यालयमै उपचार भइरहेको छ ।
घाइतेहरुको पूरा विवरण प्राप्त भएको छैन । प्रहरीले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको बताइएको छ । आठबीसकोटमा खानेपानी, बस काउण्टरलगायतका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक–पटक विवाद र झडप हुँदै आइरहेको छ ।












