रमिता दंगाल
२० पुष, काठमाडौं । काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकामा निशुल्क सिप मुलक तालिमको आयोजना गरेको छ । नगरको वडा नं १ मा निशुल्क सिपमुलक तालिममा सहभागी हुन नगरपालिकाले आवेदन फर्म खुला गरेको कागेश्वरीखबर डटकमलाई जानकारी दिएको हो ।
नगरपालिकाका अनुसार नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत इभेन्ट परियोजनाको सहयोगमा सिटिभिटि अन्तर्गत लेवल १ को ब्युटीपार्लर , मन्टेश्वरी र सिलाई सम्बन्धि निशुल्क तालिम संचालन हुन लागेको बताइएको छ ।
वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले तालिममा सहभागिता हुनको लागि यही पौष महिना भित्र वडा कार्यालयमा निवेदन दिन सकिने बताउनु भएको छ । वडा अध्यक्ष गजुरेलका अनुसार यस सिपमुलक तालिम वडा नं १ को लागि मात्र नभएर अरु वरपरका इच्छुक व्यक्तिले पनि सहभागी हुन सक्ने छन् ।
तालिममा सहभागी हुनको लागि वडा कार्यालयमा सहभागीको फोटो र नागरिकताको प्रतिलिपी बुझानुपर्ने छ। निवेदन बुझाई सकेपछि बिपन्न ,दलित र जनजातिको आधारमा इभेन्ट परियोजनाले सेलक्शन गर्ने वडा अध्यक्षय गजुरेलले बताउनुभयो। निशुल्क सिपमुलक तालिम करिव तीन महिनासम्म संचालन हुने छ ।
तेसो त उक्त वडामा पहिला पनि उद्यमशिलताको लागि यस्ता खालका सिपमुलक तालिमहरु संचालन हुँदै आएका छन्। तालिमपछि कतिपयले जिविको पार्जनको लागि यही पेशा अपनाउँदै आएको वडा अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।
निशुल्क तालिमको मुख्य उद्देश्य नगरभित्र भएका बिपन्न वर्गका मानिसहरु जिविको पार्जनको स्वरोजगार गराउने,व्यवसायिक बनाउने ,रोजगार सिर्जना गर्ने रहेको छ । स्वरोजगार गराउने तालिम भएकाले हामीले रोजगार दिने होइन ,तालिम सिकेर आफैंले तालिम अनुसारको रोजगारी गर्नु पर्ने पनि वडा नं १ का वडा अध्यक्ष गजुरेलले कागेश्वरीखबर डटकमसँग कुराकानीमा भन्नुभयो ।
त्यस्तै सिलाइ सिक्नु भएका व्यक्तिपछि सिलाई मेशिन किन्न सक्ने अवस्था भएन भने वडाबाट निशुल्क उपलब्ध गराउने समेत व्यवस्था रहेको नगरपालिकाले जानकारी दिएको छ ।












