समिता श्रेष्ठ
विपद् र महामारीको असर लामो समयसम्म रहन्छ । विनासपछि विकास पनि सँगसँगै आउँछ । त्यस्तै विपद् र महामारीले दैनिक जीवनशैलीदेखि अरु थुप्रै परिर्वतन ल्याउँछ । विश्वव्यापी कोरोना महामारीले अहिले चुनौती र अवसर बोकेर आएको छ । नेपालमा कोरोना महामारीले सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक लगायतका क्रियाकलाप र जनजीवनमा प्रभाव देखिन थालेको छ ।
मुकुन्दप्रसाद गजुरेल : वडाअध्यक्ष, वडा एक
कोरोनापछि काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा पनि केहि परिर्वतनहरु देखिएका छन् । वडानम्बर १ का अध्यक्ष मुकुन्दप्रसाद गजुरेलका अनुसार कोरोनाको असर सामान्य रहेन । विश्वव्यापी असर पारेको कोरोनाले समाज र अर्थतन्त्रमा पारेको प्रभाव दिर्घकालिन छ ।
भौतिक र औद्योगिक सबै क्षेत्रमा यसले नकारात्मक असर पारेको छ । ‘राजस्व उठेको छैन । थप बजेट निकासा नभएको कारणले विकास निर्माणका काममा पनि असर परेको छ । त्यसैगरि दैनिक जीवन निर्वाहमा पनि यसले असर पुर्याएको छ ।’ उहाँले भन्नुभयो,‘दैनिक ज्यालादारी गरेर खानेहरु मजदुर वर्गलाई झनै गाह्रो छ ।’
कागेश्वरी मनोहरा नगरपालिकामा बाहिरबाट आएर बस्नेहरु उपत्यकाका अरु ठाउँको तुलनात्मक हिसाबले कम छन् । खेती किसानी गरेर खानेलाई पनि कोरोनाले सकर पारेको छ । ‘खेतीपातीको लागि आवश्यक रासायनिक मल पनि पाउन मुस्किल परेको छ । सामान उत्पादन र खपत हुने कुरामा पनि असर पुर्याएको छ ।’वडाअध्यक्ष गजुरेल भन्नुहुन्छ,‘ उत्पादित बस्तुले पनि बजार पाउन सकेको छैन ।
धेरै नकारात्मक असर नै देखिएको छ । त्यस्तै आफ्नो पेशा। व्यवसायमा जान आउन निजि साधन नहुनेलाई सार्वजनिक यातायातमा चढ्दा कोरोनाको डर छ । जे जस्तो भए पनि त्रासकै बिच यात्रा गर्नुपर्ने बाध्यता छ । कार्य क्षेत्रमा काम गर्दा पनि आफ्नो कार्यस्थलका साथीहरू वा सेवाग्राहीहरुलाई कोरोना होला कि भनेर शंका गर्नुपर्छ ।
आफू संक्रमित हुने उत्तिकै डर छ । डरैडरमा काम गर्नुपर्ने बाध्यता बनेको छ । ‘सेवा दिने र सेवा लिने सबै लाई डर छ । सामाजिक परम्परा, धर्म संस्कृति, चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन ल्याएको छ ।’ गजुरेलले भन्नुभयो,‘यसले आर्थिक रुपमा खर्च घटाएको भए पनि त्रास चै बढाएको छ । सामाजिक ,सांस्कृतिक र आर्थिक सबै क्षेत्रमा असर छ ।’
राममणि पुडासैनी : वडाध्यक्ष, वडा तीन
गएको माघमा नेपालमा समेत कोरोना भित्रिएपछि विस्तारै संक्रमण बढ्दै गयो । सरकारले चैत ११ गतेदेखि झण्डै कात्र्तिकसम्म पूर्ण र आशिंक लकडाउन गरेको थियो । कोरोना संक्रमणपनि बढ्ने लकडाउन पनि बढ्ने भएपछि नागरिकले बिरोध गर्न थाले । सरकारले लकडाउन हटायो ।
‘कोरोनाको कहर देखिनु भन्दा अगाडि र पछाडीको परिवर्तनबारे कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राममणि पुडासैनी भन्नुहुन्छ,‘हिजोका दिनमा कोरोनाको प्रभाव नदेखिदा जीवनशैली सामान्य तरिकाले चलिरहेको थियो । तर कोरोनाको प्रभाव देखिएपछि विद्यालयमा पठनपाठन रोकियो । विद्यार्थीहरुले पढ्न पाएका छैनन् ।
केही निजि विद्यालयले अनलाइन कक्षा चलाए । तर पहुँच नहुँनेले त्यसमा पनि बञ्चित हुनुपर्यो । सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अनलाइन पठनपाठन निक्कै गाह्रो विषय छ । पहुँच पुगेकै छैन ।’ विकास निर्माणका काम जतासुकै प्रभावित छन् । आर्थिक उपार्जन, व्यापार व्यवसाय, पर्यटन लगायतमा समेत ठप्पै देखियो । यसले गर्दा आम्दानीका स्रोत बन्द भएका छन् ।
कोरोनाका कारण मुख्य चाडपर्वहरु पनि प्रभावित भएका छन् । पहिले जसरी चाडपर्वहरु, मठमन्दिरको दर्शन, मेलापर्व जात्रा इत्यादिमा रौनक छैन । आफ्ना आफन्तसंग बसेर रमाइलो गरेर मनाउने वातावरण छैन । सामान्य रुपमा चलिरहेको दैनिकीमा कोरोनाले धेरै नकारात्मक र थोरै मात्रै सकारात्मक असर पुर्याएको छ । कार्यस्थलमा गएर काम गर्न र पहिले जस्तो भेटघाट गर्ने कुरा घटेको छ । यसले गर्दा मनोभावना र मनोविज्ञानमा असर पारेको पाइएको छ ।
राजाराम पुडासैनी : वडाअध्यक्ष वडा पाँच
महामारिको कारणले ल्याएको परिवर्तनबारे वडा नम्बर ५ का वडाअध्यक्ष राजाराम पुडासैनी भन्नुहुन्छ,‘कोरोनाको प्रभावबाट कागेश्वरी मनोहरा नगरपालिका पनि अछुतो छैन । सरकारले लकडाउन गरेको बेलामा नगरपालिका भित्र ५÷६ जना संक्रमित देखिएका थिए ।
लकडाउन खुल्ला गरेपछि र व्यापार, व्यवसाय संचालन भएपछि आवतजावतमा वृद्धि हुँदा नगरपालिका भित्र विभिन्न वडाहरुमा संक्रमितहरुको संख्यामा पनि वृद्धि भएको देखिन्छ । अहिले झण्डै ९ सय संक्रमित पुगेका छन् । कोहि निको भैसक्नुभयो, केहि होम आसोलेसन र कोहि नगरपालिकाको अस्पताल तथा अरु विभिन्न अस्पतालमा उपचाररत हुनुहुन्छ ।’
कोरोनाकै प्रभावले विकास निर्माणका कामहरु रोकिएका छन् । खुलेर स्वतन्त्र रूपमा आवत जावत गर्न सक्ने वातावरण छैन । विद्यार्थीहरुले पढ्न पाएका छैनन् । मध्यम वर्गको आर्थिक स्थिती कमजोर बन्दै गएको छ । गरिखाने वर्ग मारमा परेका छन् । कोरोनाकै कारण धेरै पक्षमा परिवर्तन भएको छ । धेरै नकारात्मक छ, सकारात्मक परिर्वतन केवल स्वास्थ्यको ख्याल राख्ने र साबुनपानीले हात धुने, मास्क लगाउने गरेको देखिन्छ ।
कुन्दन खड्का : वडाध्यक्ष, वडा नौ
कोरोनाको कारण भएको लकडाउनले मान्छेहरु रोगले भन्दा भोकले मर्ने स्थिती पुगिसकेको थियो । त्यसैले रोगसँग र भोकसँग लड्नुको विकल्प रहेन । ‘पहिले धेरै डराए, अहिले डर भाग्यो या डर भएपनि आफ्ना काम सुरु गर्नु बाध्यता भएको वडा नम्बर ९ का वडाअध्यक्ष कुन्दन खड्का बताउनुहुन्छ । कोरोना संक्रमण थोरै हुँदा मान्छे धेरै सचेत थिए । तर कोरोना बढेसँगै मान्छेहरुमा डर कम भएको देखिन्छ ।
कागेश्वरी नगरपालिकाभित्र जनघनत्व र जनसंख्याको हिसाबले पनि वडा नम्बर ९ मा धेरै जनसंख्या भएको कारणले संक्रमण धेरै देखिन्छ र यो स्वभाविक नै हो । अहिले कोरोना संक्रमित पनि बढ्दैछ । विद्यालयहरु बन्द नै छन् । शिक्षा, व्यापार, यातायात, पर्यटन, धर्मकर्म, संस्कार सबैमा समस्या परेको छ । चाडपर्व मनाउने शैलीमा परिवर्तन ल्याएको देख्न सकिन्छ ।
जयराम थापा र हरिचन्द फुयाल : स्थानीयबासिन्दा
कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना देखिएपछि भएको परिवर्तनबारे स्थानीय बासी जयराम थापा भन्नुहुन्छ,‘कोरोना महामारीको कारणले बेरोजगार बढेको छ । आर्थिक समस्या र भार थपिदै गएको छ । बालबालिकाको पढाई बिग्रेको छ । घरमा बस्दा मानसिक तनाव बढेको छ । महंगी बढेको छ ।
अर्का स्थानीय हरिचन्द फुयाल भन्नुहुन्छ,‘कोरोना महामारी देखिएपछि सुरु सुरुमा मान्छेहरु निकै डराएका थिए । तर अहिले त्यति डराएको देखिदैन । लकडाउन हुँदा चलिरहेको कामलाई बन्द हुने परिवर्तन भयो । तर अहिले जताततै भिडभाड देख्न सकिन्छ । सरकारका जिम्मेवार निकायको ध्यान कहाँ छ ? अनि संक्रमणबाट जोगिन नागरिक आफै सचेत हुनुको विकल्प रहेन ।








