रमिला नेपाल
कार्तिक १९, काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिकाले दशैँ तिहार लगायतका चाडपर्वमा कोराेनाकाे जोखिमकै बिच बजार अनुगमन गरेकाे छ । नियमित बजार अनुगमन हुँदा उपभोक्ता मर्कामा पर्नबाट जाेगिएकाे नगरपालिकाले जनाएको छ ।
कागेश्वरी नगरपालिकाका प्रमुख कृष्णहरि थापा रहेको संयुक्त बजार अनुगमन संयन्त्र सक्रिय भएकाे हाे । संयन्त्र सक्रिय भएपछि बजारमा कालोबजारी मौलाउन नपाएको उहाँको भनाई छ । तर ठूला चाडपर्वको बेला मात्रै बजार अनुगमनमा जाग्ने गरेको अरू बेला अनुगमन नहुने गरेकाे सर्वसाधारण उपभोक्ताको गुनासाे छ ।
स्थानिय मन्जु खड्का भन्नुहुन्छ, ‘दशैँ तिहारमा मात्रै अनुगमन हुन्छ, अरू बेला अनुगमन नै गर्नुहुन्न भनेर त संविधानमा लेखेको छैन होला नि।’ चाडपर्वका बेला भड्किलो र प्रचारमुखी अनुगमनमा निस्कने सम्बन्धित निकायहरू अरू बेला मौन बस्ने गरेकोप्रति उपभोक्ता मात्रै होइन व्यवसायीलाई पनि चित्त बुझेको छैन ।
‘नियमित अनुगमन नहुँदा मापदण्ड अनुसार व्यापार व्यवसाय गरिरहेका हामीहरू जस्तालाई मार परेको छ, कागेश्वरीका डेरी सञ्चालक कुमार भट्टराईले भन्नुभयाे । वर्षमा एक दुईपटक हुने ठूलो बजार अनुगमनमा दोषी देखिएकाहरू सामान्य जरिवानामा छुट्ने गर्दा पनि कालोबजारी नरोकिएको उहाँको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी, विभिन्न उपभोक्ता समिति पनि चाड पर्वका बेलामा मात्रै सक्रिय हुने गरेकाे धेरैकाे गुनासाे छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बर्षभरी बजार अनुगमन र हस्तक्षेप गर्नेबारेमा कसैलाई चासो नभएको बताउनुहुन्छ । ‘हामीले पटक पटक संयुक्त बजार अनुगमन गरौँ भन्यौँ,प्रशासनले चासो नै दिँदैन, सधैँ दशैँ तिहारमा तात्ने प्रशासन यसपटक त अझै तातेन महर्जनले भन्नुभयाे।
कागेश्वरीमा मात्रै दर्जनको हाराहारीमा उपभोक्ता अधिकारको वकालत गर्नेहरू रहेपछि यही संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा भने सबै मौन रहेको पाइन्छ । अनुगमनको नेतृत्व गर्नेहरू भने वर्षभरि अनुगमन गरिरहेको दाबी गर्छन् ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले बजार अनुगमन भैरहेकाे जानकारी दिनुभयो ।
अनुगमनमा खटिने कर्मचारीको अाचारसंहिता तयार गरेर मन्त्रालयले स्वीकृत गरेकाे पनि उहाँले बताउनुभयाे । ‘हामीले वर्षभरि नै अनुगमन गरिरहेका हुन्छौं, तर दशैँ तिहारमा केही मात्रामा बढि भएकै हो’ सुवेदीकाे भनाई छ । अरू समयमा भन्दा चाडपर्वका समयमा उपभोक्ता ठगिमा पर्ने बढि सम्भावना हुने भएकाले त्यो बेला अनुगमनलाई तिब्र बनाउनुपर्ने उहाँको दाबी छ ।
‘हामीले बजार अनुगमनलाई प्रभावकारी बनाएका छौँ, तर यस आर्थिक वर्षमा एकपटक मात्रै संयुक्त बजार अनुगमन भएको छ । उहाँले भन्नुभयाे, विषयगत अनुगमन भने जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, औषधि व्यवस्था कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योग लगायतका कार्यालयले आफ्नो अधिकारभित्र रहेको कुराहरूमा अनुगमन गरिरहेका छन् ।
केही समयअघि गुणस्तर तथा नापतौल कार्यालयले देशका सबै स्थानका पेट्रोलियम पदार्थमा कालोबजारी भइरहेको पाएपछि अनुगमन गरी तीन वटामा सिल गरेकाे थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि वर्ष भरिको कार्ययोजना अनुसार अनुगमन गर्ने गरेको जनाएको छ । ‘हामीले हाम्रो कार्यक्रम अनुसार जिल्ला प्रशासनसँग समन्वय गरेर बजार अनुगमन गर्छाैं, त्यहीअनुसार केहीलाई कारबाहीको दायरामा पनि ल्याएका छौँ ’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले भन्नुभयाे ।
विषयगत कार्यालयको अनुगमनले निरन्तरता पाए पनि आम उपभोक्तालाई राहत पुग्नेगरी संयुक्त बजार अनुगमन नभएकाे र केही कमिकमजाेरी भएको हुनसक्ने उहाँको भनाई छ ।











