रमिता दंगाल
असाेज १८,काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा बर्थिङ्ग सेन्टरको भवन निर्माणको काम भैरहेको छ । आधारभूत स्वास्थ्य सेवा नागरिकको घर दैलोमा पुर्याउने अभियान अन्तर्गत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ्ग सेन्टरको भवन निर्माण गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।
कोरोना महामारीको बीचमा पनि भवन निर्माणको काम भैरहेको हो । दुई महिना अघि भवन निर्माणको काम सुरु गरिएको थियो । अहिले भवनको पिल्लर उठाउने काम धमाधम भैरहेको स्वास्थ्य शाखा अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिनुभयो । भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट बजेट निकासा भएको हो ।
बजेट किस्ता आउने र अहिले ६५ लाख रुपैयाँ आएको पनि कोइरालाले बताउनुभयो । भवन बन्दै गर्दा अनुगमन गरी त्यसैअनुसार रकम किस्तामा पठाउने उहाँले जानकारी दिनुभयो । भवन निर्माणको काम सकिन अझै ६ महिना लाग्ने अनुमान गरिएको स्वास्थ्य शाखा अधिकृत कोइरालाले कागेश्वरी खबरलाई जानकारी दिनुभयो ।
‘सुरक्षित प्रसुति हुन पाउने महिलाहरुको अधिकार हो’ उहाँले भन्नुभयो,‘जुन संविधानमा पनि लेखिएको छ । प्रजनन स्वास्थ्य आमा सुरक्षा अन्तर्गत सुरक्षित सुत्केरी हुन पाउने महिलाको अधिकार हो । अस्पतालसम्म लैजाँदा जटिल अवस्था नआवोस भनेर सबै स्थानीय तहले आ आफ्नो स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालन गरेका छन् ।
आमा सुरक्षा कार्यक्रममा सुरक्षित सुत्केरीदेखि लिएर नवजात शिशु स्याहार, सुरक्षित गर्भपतन साथै सुत्केरीपछि हुने जटिलता र सुत्केरीपछि पनि चेकजाँच गरी राख्नु पर्ने हुन्छ । सबै स्वास्थ्य केन्द्रमा त्यही अनुसारको स्वास्थ्यकर्मी रहन्छन् । बर्थिङ्ग सेन्टर भैसकेपछि सुत्केरीले घरमै बच्चा जन्माउनुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।
समयमा नै स्वास्थ्य चौकी पुर्याउन पाए मातृ मृत्युदर पनि घट्ने तथा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने उहाँको कोइरालाको भनाई छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ मा मात्र नभई वडा नम्बर ४ मा पनि भवन निर्माणको काम भैरहेको छ । त्यहाँ पनि पिल्लर उठाउने काम भैरहेको छ । वडा नम्बर ५ पनि भवन बन्नेछ ।











