समिता श्रेष्ठ
लेखपढ गरे भोली ठुलो मान्छे बनिन्छ भन्ने आम धारणा छ । केटाकेटीलाई पढ बाबु, पढ नानी भनेर बुवाआमा, शिक्षकले दिनहुँ भन्नुहुन्छ । पक्कै पढ्नुपर्छ, नपढे पछि परिन्छ । तर क्यान्सरलाई जित्नुभएकी सुष्मा महर्जन भन्नुहुन्छ,‘पढेर हैन, जीन्दगीसँग लडेर राम्रै पाठ सिकेँ । जीन्दगीलाई उनिहरुले नै बुझेको हुन्छ, जसले पीडालाई खुशीमा बदल्ने सामर्थ्य राख्न सक्छ ।’
रोगसँग लडेर बाँच्नुपर्दा
२०३४ सालमा काठमाण्डौको त्रिपुरेश्वरमा जन्मेकी महर्जनले विजनेस म्यानेजमेन्टबाट डिग्री गर्नुभएको छ । पढे लेख्नुभएको उहाँको जीवन राम्रै चलेको थियो । २०६६ सालमा जीवनको यात्रामा ब्रेक लाग्यो । खुसीहरु निराशामा बदलिए । दायाँ स्तनमा गिर्खा देखिएपछि अस्पताल पुग्नुभएकी उहाँलाई क्यान्सर भएको थाहा भयो । त्यसबेलाका निराशाबारे उहाँ भन्नुहुन्छ,‘जब मलाई क्यान्सर लागेको थाहा भयो तब सोचे मलाई रोग किन लागेको होला, मेरो गल्ती के थियो ? यस्ता अनेक प्रश्न र तर्कना मनमा खेल्न थाले ।’
विवाह समेत नभैसकेको उमेर अवस्था, भोली केहि गर्छु भन्ने आँट र उत्साह भरीएका बेला रोगले समायो । आफन्त र समाजले पनि त्यसपछि बिचरा जस्तो व्यवहार देखाउने, नराम्रो दृष्टिकोणले हेर्न थाले । तर उहाँले आत्मबल बलियो बनाउनु भयो । र क्यान्सरसँग लड्ने आँट बटुल्नुभयो ।
उपचार
क्यान्सरको अपरेशन गर्न उहाँले नेपालका राम्रा डाक्टर खोज्नुभयो । ओम अस्पताल गएर अपरेशन र किमो लगाउनुभयो । उहाँले जिन्दगीलाई बुझ्ने मौका र जीन्दगीको अर्थ त्यहीँ बेला बुझ्नु भयो । झण्डै ६ महिना उपचार र ६ पटक किमोथेरापी गरेपछि उहाँलाई सहज हुँदै गयो । जब स्तन क्यान्सरसंग लड्नु भयो, उपचार गर्नुभयो उहाँले जित्नुभयो, रोगले हार्यो । रोगलाई जितेर उहाँले बिहे पनि गर्नुभयो ।
बाँया स्तनमा पनि क्यान्सर
जीन्दगी यात्रा हो अनि हामी यात्री । यात्रा गर्ने क्रममा अनेकौं उतारचढाव आउने गर्दछ । त्यस्तै उतारचढाव उहाँको जीन्दगीमा आइरह्यो । सन् २०१२ देखि २०१८ सम्म अमेरिकामा बस्नु भएको थियो । त्यो बेला फेरि उहाँको बायाँ स्तनमा गिर्खा देखा पर्यो । र चेक गर्दा स्तन क्यान्सर नै रहेछ । फेरि अपरेसन गर्नुपर्यो र ९ पटक साईकल किमो गरेपछि ठिक भयो । तर त्यो बेला श्रीमान् मात्रै साथमा हुनुहुन्थ्यो ।
परिवार साथमा नभएकोले सुरुमा भन्दा धेरै गाह्रो भएको थियो, उहाँले भन्नुभयो । हाल उहाँ नेपालमा सामाजिक कार्यमा व्यस्त हुनुहुन्छ । अहिले उहाँ स्तन क्यान्सरसंग लडिरहनु भएका ब्यक्तिहरुलाई प्रेरणा दिने काम गर्नुहुन्छ । ऋचा बजिमय मेमोरियल फाउन्डेसनमा कार्यक्रम परिचालक (संचालिका) को रुपमा र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्दीमा सल्लाहकारको रुपमा रहनुभएको छ ।
अरुलाई हौसला
महर्जन निको भएपछि ऋचा बजिमय मेमोरियल फाउन्डेसन जावलाखेलमा आवद्ध भएर स्तन क्यान्सर सम्बन्धित विभिन्न जानकारीमुलक कार्यक्रम गर्दै हिड्न थाल्नुभयो । अहिले पनि विभिन्न चेतनामुलक कार्यक्रममा सहभागी हुने र अरुलाई हौसला थप्ने गर्नुहुन्छ । उहाँ उहाँ भन्नुहुन्छ,‘स्तनक्यान्सर पनि अरु रोग जस्तै हो, बेलैमा राम्रो उपचार पाउनु सके निको हुन्छ ।
रोग लुकाएर बस्नु हुँदैन, आत्मबल बढाएर रोगबिरुद्ध लड्नुपर्छ । सबैभन्दा ठुलो कुरा आत्मविश्वास हो ।’ ‘जीवनमा सुख दुःख आईरहन्छ । सुखमा मात्तिनु हुँदैन र दुखमा पनि आत्तिनु हुँदैन भन्ने जीन्दगीको पाठ सिकेँ । उहाँ भन्नुहुन्छ,‘यो रोग लागेपछि मैले ज्ञान पाए की आफ्नो लागि मात्रै होईन अरुका लागि जीउनु पनि जिन्दगी हो ।’
जीवनको दियोमा तेल थप्दै
महर्जनले क्यासरसँग लड्दै गर्दा अठोट गर्नुभएको थियो, बाँचे भने अरुलाई पनि बचाउँनेछु । आफ्नो लागि मात्रै होईन आफू जस्तै हजारौं र लाखौं क्यान्सरसंग लडिरहेका बिरामीहरुलाई पनि बचाउन काम गर्नेछु । ऋचा फाउन्डेसनको माध्यमबाट जागरुकता फैलाउंदै सूचना, जानकारी दिने काम निरन्तर गर्दै आउनुभएको छ ।
क्यान्सर अस्पताल हरिसिद्दिमा गएर क्यान्सरसंग लडिरहेका ब्यक्तीहरुलाई सकारात्मक उर्जा दिने, रोगसंग लड्न र जित्न उत्प्रेरित गर्ने काम पनि गर्नुहुन्छ । निभ्न लागेका धेरै जीवनमा उहाँले तेल थप्दै आउनुभएको छ ।
क्यान्सरसंग लडिरहेका बिरामीहरुलाई आत्मनिर्भर बनाउन र उहाँहरुको दिमागमा नकारात्मकता नआओस् भनेर सिर्जनात्मक काम सिकाउने महर्जनको रहर छ ।








